
काठमाडौं । नेपाली कांग्रेस ले आज (शनिबार) देखि १५औं महाधिवेशनको प्रक्रिया औपचारिक रूपमा अगाडि बढाउने भएको छ।
पछिल्लो केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार पार्टीले आगामी असोज १६ देखि १९ गतेसम्म १५औं महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका पारित गरेको छ।
कार्यतालिकाअनुसार २१ चैतदेखि मसान्तसम्म केन्द्रबाट सदस्यता फारम वडा तहसम्म पठाइनेछ भने १६५ वटै निर्वाचन क्षेत्रमा सदस्यता वितरणका लागि प्रतिनिधि खटाइनेछ।
महाधिवेशनको तयारीस्वरूप कांग्रेसले आज देशभर खटिने प्रतिनिधिहरूलाई ‘ओरिएन्टेसन’ दिन लागेको छ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल का अनुसार दिउँसो २ बजे सानेपामा कार्यक्रम तय गरिएको छ।
प्रतिनिधिहरूको नाम भने ‘ओरिएन्टेसन’पछि सार्वजनिक गरिने जनाइएको छ। साना जिल्लामा एक जना र ठूला जिल्लामा दुई जना प्रतिनिधि खटाइने दुलालले जानकारी दिएका छन्।
कांग्रेसले १ वैशाखदेखि मसान्तसम्म देशभर क्रियाशील सदस्यता वितरण तथा अद्यावधिक अभियान सञ्चालन गर्नेछ। त्यसपछि १५ जेठसम्म वडाबाट सदस्यता जिल्ला र क्षेत्रमा पठाइसक्नुपर्नेछ भने २५ जेठभित्र केन्द्रमा इन्ट्री गरिसक्ने कार्यतालिका छ।
केन्द्रले सदस्यतामा आवश्यक छानबिन गरेर १५ असारसम्म अन्तिम टुंगो लगाउने र असार मसान्तसम्म अद्यावधिक नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाउने तयारी रहेको छ।


