
वीरगञ्जमा एक युवकको योजनाबद्ध आक्रमणपछि मृत्यु भएको छ भने घटनामा संलग्न रहेको आरोपमा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ।
प्रहरीका अनुसार घटना हिजो आइतबार दिउँसो करिब ४:४० बजे वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित फिरोज मियाँको घरमा भएको हो। पर्सा कालिकामाई गाउँपालिका–१ मुडली घर भएका २८ वर्षीय विकास कुमार चौरसियामाथि आक्रमण गरिएको हो।
प्रारम्भिक अनुसन्धानमा विवाहेतर सम्बन्धको आशंकालाई लिएर उनलाई योजनाबद्ध रूपमा घरमा बोलाई आक्रमण गरिएको देखिएको प्रहरीले जनाएको छ। आरोपितहरूले पीडितकी श्रीमतीलाई फोन गराएर कोठामा बोलाएको र उनी पुगेपछि आक्रमण गरेको विवरण खुलेको छ।

प्रहरीका अनुसार आक्रमणका क्रममा फलामको रड र धारिलो हतियार प्रयोग गरिएको थियो। टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेपछि चौरसिया गम्भीर घाइते भएका थिए।
घटनापछि तत्कालै प्रहरी टोलीले उनलाई उद्धार गरी नारायणी अस्पताल पुर्याएको थियो। तर उपचारका क्रममा सोही दिन बेलुका करिब ७:३० बजे चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।
घटनालगत्तै वडा प्रहरी कार्यालय श्रीपुर, विर्ता र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले चार जनालाई नियन्त्रणमा लिएको छ। घटनास्थलको मुचुल्का तयार गरी थप प्रमाण संकलन तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनामा अन्य व्यक्तिको संलग्नता भए/नभएको विषयमा पनि अनुसन्धान अघि बढाइएको जनाएको छ।

