
रौतहट, असोज ११ –
लालबकैया नदीमा हाम फालेर बेपत्ता भएका बाराका २७ वर्षीय सचिन्द्र यादवको शव २७ घण्टापछि फेला परेको छ ।

सिम्रौनगढ नगरपालिका–११ कटहरियाका यादवको शव शनिबार अपराह्न करिब ४ बजे मौलापुर–४ स्थित घटनास्थलबाट करिब १०–१२ किलोमिटर तल फतुवा क्षेत्रमा नदी किनारमा भेटिएको हो ।
शुक्रबार उपचारका लागि दाइ सिकिन्द्र यादवसँग मोटरसाइकलमा गरुडा जाँदै गर्दा पुलमा पुगेपछि सचिन्द्र अचानक ओर्लिएर नदीमा हाम फालेका थिए । उनी मानसिक रूपमा अस्वस्थ रहेको परिवारले प्रहरीलाई जानकारी गराएको थियो ।
घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोली खोजीमा परिचालन गरिएको थियो । नदीको बहाव र गहिराइका कारण कठिनाइ भए पनि निरन्तर खोजीपछि शव फेला परेको प्रहरीले जनाएको छ ।
शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मौलापुरले जनाएको छ ।

