
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई प्रहरीले आफन्तको जिम्मा लगाएर पठाएको छ। महाराजगञ्जस्थित निवासबाट शनिबार राति नियन्त्रणमा लिएर टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखिएका जबरालाई आइतबार आफन्तको जिम्मा लगाइएको हो।

प्रहरीले जबरालाई सुरक्षा जोखिमका कारण कार्यालयमा ल्याइएको दाबी गरेको छ। तर, उनलाई कस्तो सुरक्षा जोखिम थियो भन्नेबारे प्रहरीले विस्तृत जानकारी सार्वजनिक गरेको छैन। पक्राउ पुर्जीबिनै राति कार्यालयमा ल्याइएको विषयमा पनि प्रश्न उठेको छ।
यसअघि जबरालाई भेट्न राष्ट्रिय मानव अधिकार आयोगको टोली टेकु पुगेको थियो। टोलीले करिब ४५ मिनेट कार्यालयको गेटमा कुर्दा पनि भेट्न नपाएपछि फर्किएको थियो।
जबराविरुद्ध कुनै आपराधिक अनुसन्धान वा मुद्दा अघि बढाइएको हो कि होइन भन्नेबारे पनि प्रहरीले स्पष्ट जानकारी दिएको छैन।

