
मधेश प्रदेशमा नियमित रूपमा प्रकाशन हुने पत्रपत्रिकाको संख्यामा सप्तरी जिल्ला पहिलो स्थानमा रहेको छ भने पर्सा दोस्रोमा परेको छ।

प्रेस काउन्सिल नेपालको आर्थिक वर्ष २०८२/८३ को तथ्यांकअनुसार सप्तरीमा ७१ र पर्सामा ५८ वटा पत्रपत्रिका नियमित प्रकाशनमा छन्। धनुषामा ४३, बारामा २४, सिराहामा १२, महोत्तरी र रौतहटमा १०–१० तथा सर्लाहीमा ८ वटा पत्रपत्रिका प्रकाशन भइरहेका छन्।
काउन्सिलका अनुसार देशका ६८ जिल्लाबाट ९२७ वटा पत्रपत्रिका नियमित प्रकाशनमा छन्। तीमध्ये २२५ दैनिक, ३ अर्धसाप्ताहिक, ५३३ साप्ताहिक, १२ पाक्षिक, १०८ मासिक, १६ द्वैमासिक, २१ त्रैमासिक र १ वार्षिक पत्रपत्रिका रहेका छन्।
तथ्यांकअनुसार मधेशमा छापा सञ्चारमाध्यमको संख्या जिल्लाअनुसार फरक देखिएको छ। पर्सामा ५८ वटा पत्रपत्रिका नियमित प्रकाशनमा रहनुले वीरगंजमा सञ्चार क्षेत्रको सक्रियता उल्लेख्य रहेको देखाउँछ।

