
नेकपा एमालेका नेता तथा जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी ज्यानसम्बन्धी तथा सार्वजनिक न्यायविरुद्धको कसुरमा पक्राउ परेका छन्।
जगरनाथपुर–५ घर भई हाल वीरगन्ज–१३ मुर्ली बस्दै आएका करिब ४० वर्षीय जाफिरलाई बुधबार वीरगन्जबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लले जानकारी दिए। उनी भैंसी तथा पाडा व्यापारी हुन्।

प्रहरीका अनुसार जाफिरमाथि आफ्नी सालीको हत्या घटनामा संलग्न रहेको आरोप छ। सोही घटनामा उनका दाजु नासिर अहमद मन्सुरीलाई पनि यसअघि असोज ३ गते पक्राउ गरिएको थियो।
२०७८ असोज २१ गते जाफिरकी सालीको शव प्रहरीलाई जानकारी नदिई मुर्लीस्थित कब्रस्तानमा गाड्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएको थियो। घटनाको अनुसन्धानका क्रममा जबर्जस्ती करणीपछि अत्यधिक रक्तश्रावका कारण उनको मृत्यु भएको र शव गुपचुप गाड्न खोजिएको आरोपमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
करिब पाँच वर्षपछि प्रहरीले जाफिर र नासिरलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो। घटनामा संलग्न अन्य आरोपित फरार रहेकाले उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

