
पर्सा असोज १८ –
वीरगंजस्थित नेशनल मेडिकल कलेजमाथि सांसद रहबर अन्सारीले प्रतिनिधिसभामा उठाएका आरोपप्रति निजी मेडिकल तथा डेन्टल कलेज एसोसिएसन अफ नेपालले ध्यानाकर्षण जनाएको छ । अन्सारीले कलेजमा काम नगर्ने व्यक्तिलाई संकाय सदस्य देखाएर पीजी सिट लिइएको, निरीक्षणका क्रममा नक्कली बिरामी प्रस्तुत गरिएको र विद्यार्थीमाथि अवरोध गरिएको आरोप लगाएका थिए ।

एसोसिएसनले आरोपको निष्पक्ष छानबिन हुनुपर्ने र अनियमितता प्रमाणित भए कानुनअनुसार कारबाही गर्नुपर्ने जनाएको छ । साथै, अधिकारप्राप्त निकायको छानबिन र आधिकारिक निष्कर्ष नआएसम्म आरोपलाई प्रमाणित तथ्यका रूपमा प्रस्तुत नगर्न आग्रह गरेको छ ।
यसअघि नेशनल मेडिकल कलेजले पनि आरोप पुष्टि हुने कुनै आधिकारिक निष्कर्ष नआएको जनाउँदै आवश्यक अभिलेख उपलब्ध गराई निष्पक्ष र पारदर्शी छानबिनका लागि तयार रहेको बताएको थियो ।


