
वीरगन्ज युवा समाजले रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका वीरगन्ज–२७ उदयपुर घुर्मी (कोहडी) निवासी सवारी चालक मुन्ना अन्सारीको परिवारलाई राहत वितरण गरेको छ।

अन्सारी बेपत्ता भएपछि आर्थिक संकटमा परेको श्रीमती रूबी खातुन, चार नाबालक र वृद्ध आमाबुबा रहेको परिवारलाई समाजले खाद्यान्न, लत्ताकपडा, सरसफाइ सामग्री तथा रु. ७ हजार ५०५ नगद सहयोग गरेको हो।
समाजका अध्यक्ष संजीव थापाले वास्तविक पीडितको घरदैलोमै पुगेर सहयोग गर्नु मानवीय दायित्व भएको बताए। संयोजक मनोज गुप्ताले अन्य संघसंस्था तथा सहयोगीलाई समेत पीडितको सहयोगमा जुट्न आग्रह गरे।
कार्यक्रममा पर्सा जिल्ला फुटबल संघका अध्यक्ष रोशन गुप्ता, वीरगंज कपडा बैंकका अध्यक्ष लाल बाबु सिंह, सचिव बिनोद धिमाल, कोषाध्यक्ष सुशील श्रेष्ठ, सल्लाहकार मार्टीन मोक्तान तथा सदस्यहरू सुदेश लाखे, सुमन पौडेल, राज भण्डारी, पुष्पराज कोइराला, बिपिन भण्डारी, काजल कोइराला, मंजु भण्डारी र रोजी प्रधानको उपस्थिति थियो।

