
वीरगञ्ज । शैक्षिक शहीद मुकुन्दप्रसाद खनाल स्मृति प्रतिष्ठानको प्रथम साधारणसभा शनिबार सम्पन्न भएको छ । वीरगञ्ज महानगर वडा नम्बर ३ स्थित वर्णवाल धर्मशालामा आयोजित साधारणसभाको जगदीशप्रसाद शर्माले उद्घाटन गरेका थिए ।

उनले प्राध्यापक सङ्घ ठाकुर राम बहुमुखी क्याम्पस वीरगञ्जका पूर्व सभापति खनालको स्मृतिमा प्रतिष्ठान बनाएकोमा प्रशंसा गरे । कार्यक्रममा प्रमुख अतिथि शर्माले हामीले आफ्नो पहिचान बनाउने गरी काम गर्नुपर्ने सुझाए । सो अवसरमा उनले ठाराब क्याम्पसका अवकाशप्राप्त प्राध्यापकहरूलाई फूलमाला, दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
प्रतिष्ठानकी अध्यक्ष मुना खनालको अध्यक्षतामा भएको कार्यक्रममा डा प्रमोद कुशवाहा, डा राजेन्द्रप्रसाद कोइराला, डा सुरेन्द्रनाथ तिवारी, कनिका कौशिक, अरविन्द सिंह, प्रकाश थारूलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार प्रकाश उपाध्यायले संस्थाका उद्देश्य र गतिविधिबारेमा प्रकाश पारेका थिए भने स्वागत अजित भुजेल र सहजीकरण लालबाबू सिंह राजपूतले गरेका थिए ।

