
बारा । बाराको निजगढ नगरपालिका– १२ मा मंगलबार राति अज्ञात समूहको खुकुरी प्रहारबाट एक जना घाइते भएका छन् । निजगढ– १२ रामथलीका अन्दाजी वर्ष ४० का भीमबहादुर गोले अज्ञात समूहको खुकुरी प्रहारबाट घाइते भएका हुन् । प्रहरीका अनुसार मोटरसाइकलमा आएका व्यक्तिले घरको झ्याल खुला राखेर सुतिरहेको अवस्थामा मंगलबारराति १ः३० बजे गोलेमाथि खुकुरी प्रहार गरी फरार भएका थिए ।

घटनाको खबर पाएलगत्तै अस्थायी प्रहरी पोस्ट रतनपुरबाट पुगेको प्रहरी टोलीले घटनास्थलबाट करिब सय मिटर पर सडकमा ग.२४प ७०४६ नम्बरको मोटरसाइकल र तीन थान मोबाइल बरामद गरेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहले बताए । घटनापछि आफन्त र स्थानीयले होहल्ला गरेपछि उनीहरू मोटरसाइकल र मोबाइल छोडेर खेतको बाटो हुँदै फरार भएका थिए । घटनास्थलबाट बरामद मोटरसाइकल र मोबाइल सिमको आधारमा घटनाको अनुसन्धान अघि बढाइएको निरीक्षक कुशवाहले बताए ।
घाइते गोलेको टाउको, निधार, च्यापु, घाँटी र दायाँ हातमा चोट लागेको छ । उनको हेटौँडास्थित चुरे हिल अस्पतालमा उपचार भइरहेको छ । गोलेको स्वास्थ्य अवस्थामा सुधार हुँदै आएको प्रहरीको भनाइ छ । यसैबीच, आफ्नो पार्टीका कार्यकर्तामाथि खुकुरी प्रहार भएको घटनाको नेकपा एमाले निजगढले भत्र्सना गरेको छ । पार्टीसचिव तिलक घलानले विज्ञप्ति जारी गरी दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाहीको माग गरेका छन् । गोले नेकपा एमालेको संगठित पार्टी सदस्य रहेको विज्ञप्तिमा जनाइएको छ ।

