
वीरगञ्ज । मधेश प्रदेशसभाले शनिबार सम्पन्न बैठकबाट आर्थिक विधेयक २०८१ सर्वसम्मतरूपमा पारित गरेको छ। मुख्यमन्त्री तथा अर्थमन्त्री सतीशकुमार सिंहले पेस गरेको विधेयक प्रदेशसभाको बैठकमा छलफल पश्चात सर्वसम्मतरूपमा पारित भएको हो।
छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मुख्यमन्त्री सिंहले वर्तमान सरकारले विगतको सरकारले राखेको करको दायरा यथावत राखेको जानकारी गराए। उनले करको विषयमा कुनै परिवर्तन नगरेको र प्रदेश सरकार गठन हुँदा र बजेट बनाउँदा थोरै समय पाएकाले करको विषयमा समीक्षा गर्न नसकेको बताए।

मुख्यमन्त्री सिंहले प्रदेश सरकारको आम्दानी बढाउन विज्ञहरूसँग परामर्श गरी छलफल गरेर नीति निर्माण गर्ने प्रतिबद्धता जनाए। उनले कृषि क्षेत्रको विकास गरेर मधेशको आम्दानी बढाउन र आत्मनिर्भर बनाउन सकिने भएकाले यस तर्फ सरकार गम्भीर रहेको बताए।
आर्थिक विधेयकमाथिको छलफलमा सहभागी जसपा नेपालका प्रदेशसभा सदस्य रामअशिष यादवले जनतालाई समस्यामा पारेर कुनै पनि प्रकारको कर लगाउन उचित नरहेको धारणा व्यक्त गरे।
यसअघि, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका सदस्यहरूले केही बेरका लागि बैठक अवरुद्ध गरेका थिए।

