Aadarsh-Daily

बाराको सिम्रौनगढमा एकै घरका तीन बालबालिकाको विषाक्त खानाले मृत्यु

ad-4p

बारा । बाराको सिम्रौनगढ नगरपालिका– ७ झवानीका टोलका नरेश रामका तीन छोराछोरीको विषाक्त खाना (फुड पोइजनिङ)का कारणले मृत्यु भएको छ । बारा प्रहरीका अनुसार फुड पोइजनिङका कारणले उनीहरूको मृत्यु भएको आशंका गरिएको छ । मृत्यु हुनेमा सात वर्षीया लालिमा राम, सात वर्षीया पुष्पा राम र पाँच वर्षीय रामनन्दन राम रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले आइतबार बेलुका माछा र भात खाएर सुतेका तीन बालबालिकाको फुड पोइजनिङका कारणले मृत्यु भएको बताए ।

content ad p2

इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक नवीन राईले परिवारका सबै सदस्यले एउटै चुलोमा पकाएको खाना खाए पनि बालबालिकामा मात्रै फुड पोइजनिङको समस्या देखिएको जानकारी दिए । ‘प्रारम्भिक अनुसन्धानका क्रममा गाउँकै माछापोखरीबाट निकालेको माछा र भात खाएको भन्ने कुरा आइरहेको छ,’ उनले भने, ‘एउटै भान्सामा रहेको एउटै कराहीमा पकाएको खाना मृतकका आमा, हजुरबुबा, हजुरआमाले खाएको देखिन्छ, तर परिवारका अन्य सदस्यलाई केही भएको छैन, तीन बालबालिकालाई मात्रै फुड पोइजनिङको समस्या देखिएको हो ।’

content left

प्रहरी निरीक्षक राईले तीन बालबालिकाले दिउँसोको समयमा अन्य केही खानेकुरा खाए कि सोही माछासहितको खानाको कारणले मृत्यु भयो भन्ने कुरा अहिलेसम्म नखुलेको बताए। उनले मृतक बालबालिकाको घरमा कुनै पनि प्रकारको विषाधिजन्य औषधि नभेटिएको पनि जानकारी दिए ।

प्रहरी निरीक्षक राईले बालबालिकाको स्वास्थ्यमा समस्या देखिएसँगै परिवारका सदस्यहरूले सिम्रौनगढस्थित रामबाबुको पोलिक्लिनिकमा उपचारका लागि पुर्‍याएको बताए । पोलिक्लिनिकले आफ्नोमा उपचार सम्भव नभएको बताएसँगै बाराको प्रादेशिक अस्पताल कलैया पुर्‍याइएको थियो। ‘तीन बालबालिकामध्ये एकजना सिकिस्त भएकाले प्रादेशिक अस्पताल कलैया पुर्‍याउने क्रममा नै मृत्यु भएको बताइएको छ,’ प्रहरी निरीक्षक राईले भने, ‘प्रादेशिक अस्पतालले अन्य दुई बालबालिकाको स्वास्थ्य अवस्था गम्भीर देखिएपछि नेसनल मेडिकल कलेज वीरगन्जमा रेफर गरेको थियो, अन्य दुई बालबालिकाको पनि नेसनल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।’

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मृतक तीनै बालबालिकाको शव परीक्षण गरेर परिवारलाई हस्तान्तरण भइसकेको छ । नरेश राम रोजगारीका लागि भारतको पञ्जाब राज्यमा रहेको जनाइएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily