
वीरगन्ज — पर्साको बहुदरमाई नगरपालिका–९ विश्रामपुरस्थित स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीले जीर्ण भवनबाट सेवा दिन वाध्य भएका छन् ।
स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरसमेत सञ्चालन भएकाले स्वास्थ्यकर्मी राति यिनै भवनमा बस्ने गरेका छन् ।
२०२६ सालमा निर्माण भएको स्वास्थ्य चौकी उक्त क्षेत्रकै पुरानोमध्येको एउटा हो । एक जना कार्यालय सहयोगी र तीन जना स्वास्थ्यकर्मी उक्त भवनमा बस्ने गरेका छन् । भवन विभिन्न ठाउँमा चर्किएको छ । सुत्ने कोठा र भान्साको सिलिङ उप्किएर प्लास्टर भुइँमा झरेको छ । वर्षातको समयमा पानीसमेत चुहिने गरेको स्वास्थ्यकर्मीले गुनासो गरेका छन् ।

सिनियर अनमि बिनुकुमारी सहनीका अनुसार गत वर्षको वर्षातमा भान्सा कोठाको सिलिङको प्लास्टर ग्यास चुलामाथि नै झरेको थियो । ‘म कोठामा थिएँ,’ उनले भनिन्, ‘ठूलो आवाजसहित सिलिङको प्लास्टर उप्किएर चुलोमाथि झर्यो, चुलो कुच्चिएर कामै नलाग्ने भएको छ । अन्य बेला पनि प्लास्टर उप्केर झरिरहेको हुन्छ । राति सुत्नसमेत डर लाग्छ ।’

स्वास्थ्य चौकी प्रमुख प्रमोद राउत कुर्मीले बर्थिङ सेन्टर सञ्चालनमा रहेकाले स्वास्थ्यकर्मी राति जीर्ण भवनमै बस्न बाध्य रहेको सुनाए । दुई जना अनमि, एक जना वरिष्ठ अनमि र कार्यालय सहयोगीसहित चार जना उक्त भवनमा बस्ने गरेको कुर्मीले बताए । नयाँ भवन निर्माणका लागि नगरपालिकामा पटक–पटक पहल गरेको उनले बताए ।

भवन निर्माण नहुन्जेल तत्कालका लागि अस्थायी बसोवास मिलाउनसमेत नगरपालिकामा पहल भइरहेको उनले जनाए । उक्त बर्थिङ सेन्टरमा मासिक करिब पाँच जना गर्भवती महिला आउने गरेको विवरण छ । साउनदेखि कात्तिकसम्म २१ जना गर्भवती महिलाले बर्थिङ सेन्टरमा शिशुलाई जन्म दिएको स्वास्थ्य चौकी इन्चार्ज कुर्मीले जनाए । पछिल्लो समय मंसिर १६ गतेसम्म ५ जना गर्भवती महिलाले सेन्टरमा आएर बच्चा जन्माएको उनले बताए ।

