
बहुदरमाई नगरपालिकामा शुक्रबार विहान विद्यार्थीले तोडफोड तथा आगजनी गरेका छन् । लामो समयदेखि शिक्षकले तलब नपाउँदा पठनपाठन अस्तव्यस्त बनेकाले विद्यार्थीले तोडफोड तथा आगजनी गरेको बताएका छन् ।

कार्यालयको ताला तोडी कुर्सी र टेबल बाहिर रोडमा ल्याएर आगजनी गरेका छन् । स्थानीय रोहित कुमारका अनुसार लेखा शाखा शाखाबाहेक हरेक शाखाको टेबल, कुर्सी र दराज तोडफोड भएको छ । कागजपत्रहरु भुईमा छरिएका छन् ।
घटनास्थलमा पुगेका प्रहरी उपरीक्षक कुमोध ढुंगेलले आगजनी र तोडफोडको सम्बन्धमा अनुसन्धान भइरहेको बताए । ‘सीसीटीभीको लाइन बन्द गरिएको रहेछ,’ उनले भने, ‘कार्यालयबाट कुर्सी र टेबल रोडमा लगेर आगजनी गरिएको छ, अनुसन्धान हुँदैछ ।’
साउन यता बहुदरमाई नगरपालिका मातहत रहेका सामुदायिक विद्यालयले तलब पाएका छैनन् । गत कात्तिक ८ मा नगरसभा सम्पन्न भएपनि नगरप्रमुखले बजेट खर्चको अख्तियारी प्रमुख प्रशासकीय अधिकृतलाई नदिएकाले बजेट निकासा हुन पाएको छैन ।

