
तलब नपाएको भन्दै आन्दोलित शिक्षकहरूले विद्यालयको साँचो प्रमुख जिल्ला अधिकारीलाई बुझाएपछि ११ दिनदेखि पर्साको बहुदरमाईका सामुदायिक विद्यालयमा पढाइ ठप्प भएको छ ।
सात महिनादेखि तलब नपाएकाले जीविकोपार्जनमै कठिनाइ भएको भन्दै गत माघ ६ देखि बहुदरमाई नगरपालिका मातहातका २० वटा सामुदायिक विद्यालयका शिक्षकले विद्यालय बन्द गरी साँचो प्रजिअ गणेश अर्याललाई बुझाएका हुन् । विद्यालय बन्द गरेको ११ दिन बित्दा पनि समस्या समाधान भएको छैन ।

शिक्षकले नियमित तलब नपाउँदा विद्यालयको शैक्षिक गतिविधि बिग्रिएको भन्दै विद्यार्थीको समूहले गत पुस ५ मा बहुदरमाई नगरपालिकाको कार्यालयमा तोडफोड तथा आगजनी गरेका थिए । तोडफोड तथा आगजनीमा करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको थियो ।
चालु आर्थिक वर्षको साउनदेखि हालसम्म शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीले तलब पाएका छैनन् । नगरसभामा नीति, कार्यक्रम तथा बजेट प्रस्तुत भए पनि नगर प्रमुख सिंघासन साह तेलीले त्यसलाई प्रमाणीकरण नगर्दा बजेट निकासा भएको छैन । गत कात्तिक ८ मा बहुदरमाई नगरपालिकाको बजेट प्रस्तुत भएको थियो ।
नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादवका अनुसार पटक–पटक माग गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर विद्यालयको साँचो बुझाउनु परेको थियो । चालु आर्थिक वर्षको सातौं महिना पुग्दा पनि बहुदरमाई नगरपालिकाको बजेट प्रमाणीकरण भएको छैन । नगरप्रमुख साहले बजेट खर्चको अख्तियारी प्रमुख प्रशासकीय अधिकृतलाई नदिँदा बजेट निकासा हुन नसकेको हो ।

