
सशस्त्र प्रहरी बल नेपालले पर्सा जिल्लाका विभिन्न स्थानबाट करिब १० लाख ८४ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ ।
सशस्त्र प्रहरीले विशेष अभियानमार्फत भन्सार छली गरी चोरी पैठारी तथा निकासी गर्न लागिएका ती सामानहरू नियन्त्रणमा लिएको हो ।

प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको सशस्त्र प्रहरी टोलीले वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानहरूबाट मात्रै ८ लाख ३७ हजार १२० रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको जनाएको छ ।
बरामद गरिएका सामग्रीमा दुई थान मोटरसाइकल, किराना सामान, तयारी कपडा, मोबाइल पाट्र्स, मोटर पाट्र्स, फलफूल, मदिरा लगायतका सामानहरू छन् ।
यी सामग्रीहरू भारतबाट नेपाल र नेपालबाट भारततर्फ भन्सार छली गरी लुकाई छिपाई लैजाँदै तथा भित्र्याउँदै गरिएको अवस्थामा फेला पारिएको सशस्त्र प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका सबै सामानहरू र मोटरसाइकलहरू वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ । सम्बन्धित निकायमार्फत आवश्यक कानुनी प्रक्रिया अघि बढाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

