Aadarsh-Daily

वीरगञ्जको सिद्धार्थ माविमा वाकीटकी प्रयोग: सानो प्रविधि, ठूलो प्रभाव

ad-4p

वीरगञ्ज, पर्सा ।
प्रविधिको प्रयोग सरकारी विद्यालयमा विरलै देखिन्छ, तर वीरगञ्जस्थित सिद्धार्थ माध्यमिक विद्यालयले यसको अपवाद प्रस्तुत गरेको छ । यहाँ विद्यालयले प्रहरीहरू प्रयोग गर्ने ‘वाकीटकी’ जस्तै सञ्चार उपकरण शैक्षिक सुधारका लागि प्रयोगमा ल्याएको छ, जसले अनुशासन र व्यवस्थापनमा उल्लेखनीय परिवर्तन ल्याएको छ ।

content ad p2

विद्यालयका प्रधानाध्यापक विनोद मेहता अनुसार विद्यालय परिसर ठूलो भएकाले सूचना आदानप्रदानमा ढिलाइ हुँदै आएको थियो । तर ९ महिनाअघि वाकीटकी प्रणाली सञ्चालनमा ल्याएपछि कक्षाकोठा र प्रशासनबीच प्रत्यक्ष संवाद सम्भव भएको छ ।

‘हामीसँग अहिले ६ वटा वाकीटकी छन्, जुन आवश्यक शिक्षक र सुरक्षा गार्डलाई दिएका छौँ,’ प्रअ मेहता भन्छन्, ‘केन्द्रीय सेट प्रशासनसँग भएकाले कुनै समस्या आयो भने तुरुन्त जानकारी हुन्छ र समाधानमा ढिलासुस्ती हुँदैन ।’

अनुशासन र समयपालनमा सुधार

content left

विद्यालय प्रशासनका अनुसार वाकीटकी प्रणालीले शिक्षकलाई समयमै कक्षा जान प्रेरित गरेको छ भने विद्यार्थीको व्यवहारमा पनि सुधार देखिएको छ । ‘शिक्षकहरू अझ जिम्मेवार बनेका छन्, कक्षा नियमित भएको छ, पठनपाठन अवरोध नभएको अवस्था बनिरहेको छ,’ मेहताले बताए ।

विद्यालयका शिक्षक छोटेलालका अनुसार वाकीटकीले शिक्षण प्रक्रियामा पारदर्शिता र गतिशीलता थपेको छ । ‘अब हरेक शिक्षकको उपस्थिति र भूमिका प्रत्यक्ष देखिन्छ,’ उनले भने, ‘शिक्षकहरू आफैं सचेत भइरहेका छन् ।’

अभिभावकहरू पनि सन्तुष्ट

वाकीटकीको प्रभाव अभिभावकले समेत महसुस गरिरहेका छन् । अभिभावक खुर्सेद आलम भन्छन्, ‘पहिलाजस्तो कक्षा छुट्दैन, शिक्षकहरू गम्भीर देखिन्छन्, छोराछोरीले पनि विद्यालय अनुशासनबारे घरमा कुरा गर्छन्, यो परिवर्तन साँच्चै प्रेरणादायी छ ।’

सानो लगानी, ठूलो प्रभाव

वाकीटकी कुनै महँगो प्रविधि होइन । तर यसले सिद्धार्थ माविमा पठनपाठनको निरन्तरता, समयपालन, अनुशासन र जवाफदेहितामा ल्याएको प्रभाव भने गहिरो छ । सरकारी विद्यालयमा प्रविधिको न्यून प्रयोगबीच सिद्धार्थ माविको यो अभ्यास अन्य विद्यालयका लागि प्रेरणाको स्रोत बन्ने देखिएको छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily