
मधेश प्रदेशको भौतिक पूर्वाधार विकासमा यति बेला ऐतिहासिक पाइलाको सुरुआत भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मधेश प्रदेशका ६४ वटा पक्की सडक योजनाको एकैपटक शिलान्यास गर्नुभएको छ ।
जनकपुरधाममा भौतिक पूर्वाधार मन्त्रालयले आयोजना गरेको विशेष समारोहमा प्रधानमन्त्री ओलीले डिजिटल माध्यमबाट योजनाहरूको उद्घाटन गर्नुभएको हो ।
यस महत्वाकाङ्क्षी योजनाअन्तर्गत मधेशका ८ जिल्लाका ६४ प्रादेशिक निर्वाचन क्षेत्रमा ५–५ किलोमिटरका दरले कुल ३२० किलोमिटर लम्बाइका पक्की सडक निर्माण हुनेछन् ।

प्रदेश सरकारले तीन वर्षभित्र सम्पन्न गर्ने गरी कालोपत्रे सहितका यी सडकहरू निर्माण गर्न १२ अर्ब ७० करोड रुपैयाँको लगानी हुने जानकारी दिएको छ ।
भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवका अनुसार स्रोत सुनिश्चित भइसकेको र ठेक्का प्रक्रिया पनि सकिएकोले अब निर्माण कार्य तीव्र रुपमा अगाडि बढ्नेछ ।
यी सडकहरू साढे ५ देखि ७ मिटर चौडाइमा निर्माण हुनेछन् भने, प्रत्येक निर्वाचन क्षेत्रमा १/१ वटा पक्की पुलको निर्माण प्रक्रिया पनि अघि बढिसकेको मन्त्रालयले जनाएको छ ।
मन्त्री यादवले भन्नुभयो – “यो योजनाले सडक पहुँचबाट बञ्चित गाउँहरूलाई यातायात सञ्जालमा जोड्नेछ, व्यापार–व्यवसायलाई गति दिनेछ र मधेशका स्थानीय उत्पादनलाई सीधा बजारसम्म पुर्याउने मार्ग खोल्नेछ ।”
मधेशको भौतिक रूपान्तरणतर्फ अग्रसर बनाउने यो योजना प्रदेशवासीको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

