
नेपालको इतिहासमा सबैभन्दा दर्दनाक घटना मध्ये एक मानिएको दरबार हत्याकाण्डको आज २४ वर्ष पूरा भयो। २०५८ साल जेठ १९ गते राति नारायणहिटी दरबारमा तत्कालीन राजा वीरेन्द्रसहित उनका परिवारका सबै सदस्यहरूको नृशंस हत्या गरियो।
सरकारले गठन गरेको छानबिन आयोगले तत्कालीन युवराज दीपेन्द्रलाई दोषी ठहर गरेको थियो। युवराज दीपेन्द्र पनि तीन दिनपछि निधन भएका थिए। त्यसैले उक्त निष्कर्षप्रति धेरैको शंका छ।

त्यसयता विभिन्न सरकारले हत्याकाण्डको सत्यतथ्य सार्वजनिक गर्ने आश्वासन दिएका छन्। तर नयाँ छानबिन समिति गठन भएन र घटनाको पुनः अध्ययन पनि भएन।
देश लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको छ। तर जनताले बुझ्न खोजेको सत्य अहिलेसम्म सार्वजनिक भएको छैन। दरबारभित्र भएको उक्त हत्याकाण्डमा संलग्न अन्य पक्षहरूको पहिचान अझै सकिएको छैन। अन्तर्राष्ट्रिय चलखेलको कुरा पनि खुलेको छैन।
राजनीतिक परिवर्तनका कथाहरूले इतिहासका कालोपनाहरू खुल्ने आशा दिलाए पनि नेपाली जनताका लागि यो दिन हरेक वर्ष पीडादायी स्मरणको रूपमा मात्रै रहँदै आएको छ।
दरबार हत्याकाण्डको सत्य कहिले सार्वजनिक हुन्छ भन्ने कुराले अझै धेरैलाई प्रतीक्षा र पर्खाइमा राखेको छ।

