
बारा जिल्लाको कलैया उपमहानगरपालिका–१४ स्थित बघवन गाउँमा भएको नन्दु राउत कुर्मीको हत्या प्रकरणमा संलग्न पाँच जनालाई जिल्ला अदालत बाराले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।
मुख्य जिल्ला न्यायाधीश कोमल प्रसाद आचार्यको इजलासले असार २२ गतेको आदेशमा कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा चलिरहेको उल्लेख गर्दै आरोपितहरूलाई पुर्पक्षका लागि कारागारमा राख्न निर्देशन दिएको हो।
गत जेठ २९ गते साँझ ७ बजेतिर बघवन चोकस्थित एक राइस मिलमा काम गरिरहेका कुर्मीमाथि छिमेकी उमेशप्रसाद जयसवाल, उनका छोरा, पत्नी र अन्यले सामूहिक कुटपिट गरी गम्भीर घाइते बनाएका थिए। उनलाई तत्काल कलैया प्रादेशिक अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

मृतकका छोरा दीपेन्द्र पटेलको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय बाराले अनुसन्धान अगाडि बढाएको थियो। अनुसन्धानपछि सरकारी वकिलको कार्यालयले असार २० गते पाँच जनाविरुद्ध अभियोगपत्र दर्ता गरेको हो।
अदालतमा आरोपित पक्षका तर्फबाट अधिवक्ता सुमनप्रसाद साहले बहस गरेका थिए भने सरकारी वकिलको कार्यालयबाट सहायक जिल्ला न्यायाधिवक्ता खडगबहादुर बस्नेत र मृतकका तर्फबाट अधिवक्ता जितेन्द्रप्रसाद कुर्मीले बहस गरेका थिए।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा घटनाको मूल कारण पुरानै रिसिइबी रहेको खुलेको छ। कुटपिटमा संलग्न भएको आरोपमा उमेशप्रसाद जयसवाल, उनकी पत्नी, तीन छोरा र दिगम्बर साह कलवारलाई पनि मुद्दामा मुछिएको छ।
कुर्मीको शव कलैया र वीरगञ्जमा पोस्टमार्टम सम्भव नभएपछि त्रिवि शिक्षण अस्पताल, काठमाडौँको विधि विज्ञान प्रयोगशालामा परीक्षण गरिएको थियो। अन्त्येष्टि दुई दिनपछि मात्र सम्पन्न गरिएको थियो।
घटनापछि बघवन गाउँमा त्रासको वातावरण छाएको छ भने पीडित परिवारले निष्पक्ष अनुसन्धान र दोषीमाथि कडा कारबाहीको माग गरिरहेको छ।

