
मधेस प्रदेश सरकारले खानेपानी संकटले काकाकुल बनेको वीरगन्जवासीको पीडामा मल्हम लगाउने प्रयासस्वरूप ८ वटा वारुणयन्त्र वीरगन्जतर्फ पठाएको छ।
बुधबार बिहान मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनमा जनकपुरस्थित प्रदेश सरकारका वारुणयन्त्रहरू वीरगन्जतर्फ प्रस्थान गरेका हुन्। प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको निर्णयअनुसार खानेपानी अभावबाट गम्भीर प्रभावित क्षेत्रहरूमा तत्काल राहतस्वरूप यी वारुणयन्त्रमार्फत पानी आपूर्ति थालिनेछ।

“प्रदेश सरकार संकट समाधानमा पूर्ण रूपले क्रियाशील छ,” वारुणयन्त्र टोलीलाई वीरगन्जतर्फ विदा गर्ने क्रममा मुख्यमन्त्री सिंहले पत्रकारहरूसँग भने, “हामी प्रभावित जनताको पीडालाई सम्बोधन गर्न कुनै कसर बाँकी राख्दैनौं।”
प्रदेश सरकारका अनुसार, एक पटकमा प्रत्येक वारुणयन्त्रबाट ५ हजार लिटरका दरले जम्मा ४० हजार लिटर पानी आपूर्ति गर्न सकिनेछ। यी वारुणयन्त्रहरू २४ सैं घण्टा सेवा दिने गरी परिचालन गरिनेछन्।
मुख्यमन्त्री सिंहले जानकारी दिएअनुसार वीरगन्जमा सञ्चालन हुने वारुणयन्त्रहरू नेपाली सेनाको सहकार्यमा व्यवस्थापन हुनेछ।
अहिले वीरगन्जका विभिन्न स्थानहरूमा लामो समयदेखि पाइपलाइन र अन्य स्रोतबाट खानेपानी आपूर्ति अवरुद्ध भएपछि स्थानीयवासीले दैनिक जीवन धान्न मुस्किल भइरहेको छ। यस्तो परिस्थितिमा प्रदेश सरकारको यो कदम प्रभावित जनताका लागि राहतको श्वास बन्ने विश्वास गरिएको छ।

