
बागमती प्रदेश सरकारमा आज (बुधबार) बिहान नियुक्त गरिएका तीन जना नवनियुक्त मन्त्रीको शपथग्रहण अन्तिम समयमा रोकिएको छ । मुख्यमन्त्री बहादुरसिंह लामाले धादिङका गोविन्द लम्साल, चितवनकी माया श्रेष्ठ र गीता गुरूङलाई क्रमशः आन्तरिक मामिला तथा कानुन, युवा तथा खेलकुद, र सहकारी तथा गरिबी निवारण मन्त्रीमा नियुक्त गरेका थिए ।
शपथग्रहण बिहान ९ बजे प्रदेश प्रमुख कार्यालयमा गराउने तयारी गरिएको थियो र त्यस सम्बन्धी जानकारी समेत प्रदेश प्रमुख कार्यालयमा दिइएको थियो । तर, अन्तिम समयमा नेकपा एमालेको असहमतिको कारण शपथ कार्यक्रम रोकिएको हो ।

एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले संवेदनशील राजनीतिक अवस्था रहेका बेला सरकार विस्तार गर्नु उचित नहुने धारणा मुख्यमन्त्रीलाई सुनाएका थिए ।
उनको आग्रहपछि मुख्यमन्त्री लामा अन्योलमा परेका छन् । एमालेको असहमति र दबाबका कारण मन्त्री नियुक्तिको प्रक्रिया विवादमा परेको छ भने सरकारभित्रको समन्वय अभावसमेत झल्किएको छ ।
सरकार विस्तारलाई लिएर देखिएको नयाँ राजनीतिक मोडले बागमती प्रदेशमा थप अस्थिरता ल्याउने संकेत देखिएको छ ।

