
असहाय र विपन्न नागरिकलाई सहयोग पुर्याउँदै आइरहेको वीरगन्ज कपडा बैंकले यही साउन १६ गते शुक्रबार घण्टाघरमा नि:शुल्क कपडा वितरण कार्यक्रम गर्ने भएको छ । बैंकले भदौमा वार्षिकोत्सव कार्यक्रम पनि सभ्य र भव्य रूपमा मनाउने तयारी गरेको छ ।
बैंकका संरक्षक अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मीको अध्यक्षतामा बुधबार बसेको बैठकले दुबै कार्यक्रमबारे निर्णय गरेको हो । कोषाध्यक्ष मनोज मिश्राका अनुसार, प्रत्येक हप्ता आइतबारदेखि शुक्रबारसम्म बिहान १०:३० देखि साँझ ५:३० बजेसम्म कार्यालय (वीरगन्ज–८) बाट नियमित रूपमा कपडा वितरण गरिँदै आएको र यही अभियानलाई थप प्रभावकारी बनाउँदै शुक्रबार साँझ ५:३० बजे वीरगन्जको मुटु घण्टाघरमा विशेष वितरण कार्यक्रम गर्न लागिएको हो ।
वार्षिकोत्सवका अवसरमा कपडा तथा आर्थिक सहयोग गर्ने दाताहरू, संचारकर्मी, शुभेच्छुक, स्वयंसेवकहरूलाई सम्मान गरिने निर्णय भएको छ । कार्यक्रमका क्रममा सामाजिक उत्तरदायित्व वहन गर्नेहरूप्रति आभार प्रकट गर्दै बैंकले आगामी दिनमा अझ सक्रियतापूर्वक सेवा अभियानलाई विस्तार गर्ने तयारी गरेको छ ।

बैठकमा बैंक अध्यक्ष लालबाबु सिंह, सल्लाहकार अधिवक्ता पन्नालाल गुप्ता, अधिवक्ता प्रकाश उपाध्याय, श्रवण बहादुर रायमाझी, सदस्य हरेन्द्र पटेल, निला कुमारी राम, संजय मण्डल, जानकी देवी, राजेश श्रीवास्तव, नवराज भट्टराई, अभिलाष गुप्ता, शोभा देवीलगायतको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि अधिवक्ता कुर्मीले “जोसँग धेरै छ, उसले दिनुस् — जसलाई आवश्यक छ, उसले लिनुस्” भन्ने मूल मन्त्रका साथ कपडा बैंकले ६ वर्षदेखि सेवा दिँदै आएको उल्लेख गर्दै सबैलाई आम्दानीको ५–१० प्रतिशत हिस्सा मानवसेवामा खर्च गर्न आह्वान गरे ।
अध्यक्ष सिंहले पछिल्लो हप्ता मात्रै धोबिनी गाउँपालिका–५ स्थित आगलागी पीडितलाई २ बोरा कपडा, २ थान कम्बल, २ थान झुल र नगद ६ हजार ५ सय रुपैयाँ सहयोग गरिएको जानकारी दिए । एक महिना अघि सोही गाउँपालिकाका अर्का पीडितलाई घरमै पुगेर २ बोरा कपडा, चिउरा १ बोरा, मिठाइ ५ किलो र नगद २ हजार १ सय सहयोग गरिएको थियो ।
अध्यक्ष सिंहले सबै सहयोगी मनहरूलाई अभियानमा हातेमालो गर्न आग्रह गर्दै भावी कार्यक्रमलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।

