
खडेरीको चपेटामा परेको मधेश प्रदेशमा धान रोपाइँ कार्य गम्भीर संकटमा परेको छ। प्रदेशका आठ जिल्लामध्ये महोत्तरी, सप्तरी, धनुषा र सिरहा जिल्लामा रोपाइँको अवस्था अत्यन्तै नाजुक देखिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार साउनको सुरुआतसम्म ८५ प्रतिशत धान रोपाइँ सकिनुपर्ने भए पनि महोत्तरीमा ३९.७३ प्रतिशत, सप्तरीमा ४० प्रतिशत र धनुषामा पनि ४० प्रतिशत मात्र रोपाइँ भएको छ। सिरहामा भने करिब ५० प्रतिशत रोपाइँ सम्पन्न भएको जनाइएको छ।

सरकारी तथ्याङ्कले देखाएकोभन्दा पनि वास्तविक अवस्था अझ गम्भीर रहेको स्थानीयवासीहरू बताउँछन्। उनीहरूका अनुसार करिब ७० प्रतिशत खेत अझै बाँझो छन्। रोपाइँ भएका खेतहरूमा पनि पानीको अभावका कारण रोपो सुक्न थालेको छ।
चुरे तथा वनजङ्गल संरक्षण अभियानका संयोजक सुनिलकुमार यादवका अनुसार सिँचाइको लागि किसानहरूले मोटरबाट पानी तानेर खेत सिँचाइ गरिरहेका छन्। यसले विद्युत महसुलको भार बढाएको छ, साथसाथै मलको अत्यधिक प्रयोग गर्नु परेको र रोगकिराको संक्रमण समेत बढेकाले थप खर्च हुन थालेको यादवको भनाइ छ।
“एकातर्फ रोपाइँ हुन सकेको छैन, भएकोमा पनि पानी, मल र विषादीको खर्च अत्यधिक छ। यस्तो अवस्थामा उत्पादनले लगानी उठ्ने सम्भावना पनि छैन,” यादवले भने।
पानीको चरम अभाव खेपिरहेका मधेशवासी अहिले आफ्नो खेत सिँचाइ गर्न र रोपाइँ जोगाउनका लागि दैनिक संघर्षरत छन्। किसानहरू गम्भीर आर्थिक संकटमा परेको अवस्थामा प्रदेश सरकार र संघीय सरकारले आपत्कालीन राहत र दीर्घकालीन समाधानको योजना ल्याउनु पर्ने आवाज उठ्न थालेको छ।

