
सर्लाही — सर्लाहीको हरिपुर्वा नगरपालिका–६ का पूर्वशिक्षक रामपुकार राय यादवमाथि गोली प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) सरोज राईका अनुसार हिजो बेलुका आफ्नै घरको आँगनमा छरछिमेकीसँग बसेका बेला अज्ञात व्यक्तिले यादवमाथि गोली प्रहार गरेका थिए। टाउकोमा गोली लागेका यादवलाई अस्पताल लैजाने क्रममा बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ।

मोटरसाइकलमा आएका व्यक्तिहरू गोली प्रहार गरेलगत्तै फरार भएका थिए। तर, भाग्ने क्रममा हरिपुर्वा–७ बसन्तपुरमा तीमध्ये एकजनाको मोटरसाइकल दुर्घटना भएको थियो।
दुर्घटनामा घाइते भएका ती व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर जनकपुरमा उपचाररत रहेको जनाएको छ। उनको परिचय खुलाइएको छैन।
प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी जारी छ भने थप अनुसन्धान भइरहेको छ।

