
झाडापखाला र हैजाको प्रकोप प्रभावित वीरगन्जमा अस्पतालमा उपचारपछि निको भएर घर फर्किने बिरामीको संख्या बढ्दै गएको छ।
वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार सोमबार बेलुकीसम्म विभिन्न अस्पतालमा उपचारपछि १७८ जना बिरामी डिस्चार्ज भई घर फर्किएका छन्। गत शुक्रबारदेखि आइतबार बेलुकीसम्म ३४४ जना बिरामी अस्पतालमा भर्ना भएका थिए। तीमध्ये हाल १६६ जना उपचाररत छन्। सोमबारमात्रै ५४ जना बिरामी डिस्चार्ज भएका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरले जानकारी दिए।
उनका अनुसार, सोमबारसम्म नारायणी अस्पतालबाट ५७ जना, तराई हस्पिटलबाट ५७, नेशनल मेडिकल कलेजबाट ३५, प्रभु हस्पिटलबाट १०, नेपाल इण्डो हस्पिटलबाट ९, सर्वोत्तम हस्पिटलबाट ३ जना निको भएर घर फर्किएका छन्।

यसबीच सोमबार थप २२ जनामा हैजाको संक्रमण पुष्टि भएको छ। आइतबार २९ जनामा संक्रमण देखिएको थियो। शुक्रबारदेखि सोमबार बेलुकीसम्म वीरगन्जमा कुल ९३ जनामा हैजा पुष्टि भइसकेको छ।
हालसम्म नारायणी अस्पतालमा ३२, तराई हस्पिटलमा ३२, नेशनल मेडिकल कलेजमा १२, भवानी अस्पतालमा ३, वीरगन्ज हेल्थकेयरमा ३, मंगलम प्याथोलोजीमा ३, अली अर्थो अस्पतालमा २, नारायणी सेन्ट्रल, एडभान्स मेडिकेयर, नेपाल इण्डो, नीलकण्ठ, सर्वोत्तम र नेपाल मेडिसिटी बयोधा अस्पतालमा एक–एक जनामा संक्रमण पुष्टि भएको छ।
ठाकुरले संक्रमण नियन्त्रण उन्मुख रहेको उल्लेख गर्दै भयावह अवस्था नरहेको बताए। वीरगन्ज महानगर प्रमुख राजेशमान सिंहले पनि बाहिर हौवा बनाइएजस्तो स्थिति नभई नियन्त्रणतर्फ लागेको दाबी गरे। “संक्रमण रोकथामका लागि प्रदेश र संघ सरकारसँग समन्वय गर्दै युद्धस्तरमा काम भइरहेको छ,” उनले भने।
यसैबीच, महानगरले वीरगन्जका सरकारी र निजी गरी ४० वटा अस्पताललाई उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएको प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णले जानकारी दिए।

