
आज हरितालिका तीज पर्व देशभरका महिलाहरूले धुमधामका साथ मनाउँदैछन्। भाद्र शुक्ल तृतीयामा व्रत बस्दै भगवान् शिवको पूजा–उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ।

हिजो दर खाएपछि औपचारिक रूपमा सुरू भएको तीज पर्व पर्सि ऋषि पञ्चमीसम्म चल्नेछ। तीजको अवसरमा आज बिहानैदेखि देशभरका शिव मन्दिरमा भक्तजनको घुइँचो लागेको छ।
परम्पराअनुसार दर खाएपछि महिलाहरूले आज व्रत बस्ने चलन छ। कतिपयले निराहार व्रत बस्ने गर्छन् भने कतिपयले जलाहार वा फलाहार गरेर व्रत बस्ने गरेका छन्। धर्मशास्त्रअनुसार पनि स्वास्थ्यले साथ नदिनेले फलफूल, गहुँ वा मकैको रोटी, र रसिलो फलहरू सेवन गर्दै व्रत बस्न सक्ने उल्लेख छ।
स्वास्थ्य विज्ञहरूले निराहार व्रत बस्दा शरीरमा पानीको कमी भएर बेहोश हुने जोखिम रहने भएकाले आफ्नो स्वास्थ्यअनुसार व्रत बस्न सुझाव दिएका छन्। उनीहरूको भनाइमा निराहार बस्न नसक्नेले प्रशस्त पानी, फलफूल वा जुस सेवन गरेर व्रत पूरा गर्न सकिन्छ।

