
पर्साको सदरमुकाम वीरगञ्जमा हैजाको सङ्क्रमण तीव्र रुपमा फैलिँदै गएको छ। स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार हालसम्म ११४ जनामा हैजा पुष्टि भएको छ।
स्वास्थ्य कार्यालयका अनुसार झाडापखाला र हैजाबाट प्रभावित १९९ जना बिरामी विभिन्न अस्पतालमा उपचाररत छन्। अहिलेसम्म वीरगञ्जका विभिन्न अस्पतालमा झाडापखालाका कारण उपचारका लागि भर्ना भएका बिरामीको संख्या ४२२ पुगेको छ। जसमध्ये २३३ जना उपचारपछि डिस्चार्ज भएका छन्।

महानगरपालिकाले हैजाको प्रमुख कारण दूषित खानेपानी हुन सक्ने आशङ्कामा पानीको नमुना संकलन गरी परीक्षण प्रक्रियालाई अघि बढाएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा पठाइएका १० नमुनामध्ये ८ वटा नमुनामा हैजा पुष्टि भएको छ भने बाँकी दुईको रिपोर्ट आउन बाँकी छ।
संक्रमण फैलिँदै गएपछि वीरगञ्ज महानगरपालिकाले मातहतका सबै विद्यालय थप तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। विद्यालयका शिक्षक तथा कर्मचारीलाई हैजा नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ।
यससँगै महानगरले सरसफाइ र जनचेतनामूलक कार्यक्रमलाई तीव्रता दिएको छ। स्वास्थ्यकर्मीहरूले पानी उमालेर मात्र पिउन, खुला शौच नगर्न र व्यक्तिगत तथा सामूहिक सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेका छन्।

