
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा करौडौंको आर्थिक चलखेल गरेको आरोपमा नापी अधिकृत सुग्रीव यादवविरुद्ध पाँच करोड बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले नापी कार्यालय भैरहरवा, रुपन्देहीमा कार्यरत यादवविरुद्ध ५ करोड ७९ लाख ६२ हजार ४४० रुपैयाँ विगो माग गर्दै आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

अनुसन्धानका क्रममा आयोगले पत्ता लगाएको तथ्य अनुसार, यादवले माथिल्लो विभागीय प्रमुख र राजनीतिक व्यक्तिहरूको प्रभावमा रहेर प्रमुख नापी अधिकृत (उपसचिव) पद रिक्त बनाइ, वैदेशिक अध्ययनमा गएका कर्मचारीको दरबन्दी कायम गरी दशौं वर्षसम्म कार्यालय प्रमुख पदमा रहेर सरकारी जग्गा प्लट मिलान गर्ने नाममा सार्वजनिक जग्गाहरू व्यक्तिको नाममा सर्ने काम गरेका थिए।
आयोगका अनुसार, सार्वजनिक पद धारण गरेको मिति २०५३/०३/१३ देखि २०९१/०३/१६ सम्मको अवधिमा यादवले ९ करोड ३ लाख ९५ हजार ४४४ रुपैयाँ आर्जन गरेका थिए, तर सोही अवधिमा उनले १४ करोड ८३ लाख ५७ हजार ८८४ रुपैयाँ बराबरको सम्पत्ति खर्च तथा लगानी गरेका छन्। यादवले यसमध्ये ५ करोड ७९ लाख ६२ हजार ४४० रुपैयाँ खर्च वा लगानीको स्रोत पुष्टि गर्न सकेका छैनन्।
साथै, अख्तियारले यादवको श्रीमती र छोराहरूका नाममा रहेको सम्पत्तिहरू जफत गर्न पनि माग गरेको छ।

