
खानेपानी मन्त्री प्रदीप यादवलाई मोबाइलमार्फत धम्की दिएको आरोपमा पक्राउ परेकी किरण साहको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बुधबार बिहान अस्पताल भर्ना गरिएको छ।

साहलाई गत शनिबार प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरी हिरासतमा रहेका बेला स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पुर्याइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रहरीका अनुसार साहमाथि आवश्यक स्वास्थ्य परीक्षण भइरहेको छ। उनको स्वास्थ्यमा सुधार आएपछि पुनः आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जानकारी दिइएको छ।
यसअघि साहले मन्त्री यादव र वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई मोबाइलमार्फत कडा शैलीमा गुनासो राखेकी थिइन्। उक्त घटनापछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

