
जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका–१६ फूलबारी टोलस्थित एक होटेलमा जुवा खेल्दै गरेका दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार आइतबार राति करिब पौने ९ बजे रोशन रौनियारद्वारा सञ्चालित होटेलमा जुवा तास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले छापा मारेको थियो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्सालका अनुसार, पक्राउ पर्नेहरूमा वीरगञ्ज–१६ बस्ने ३० वर्षीय श्यामबाबु राय र वडा नम्बर १५ बस्ने २५ वर्षीय अनन्त कुमार गुप्ता रहेका छन्।
प्रहरीले घटनास्थलबाट जुवासम्बन्धी सामग्री र नगद रकम समेत बरामद गरेको जनाएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको डिएसपी लम्सालले बताए।

