
चालू आर्थिक वर्षका लागि चार लाख ७१ हजार तीन सय मेट्रिक टन रासायनिक मल आयात गर्न बोलपत्र आह्वान गरिएको छ। सरकारले यो वर्ष कुल छ लाख मेट्रिक टन रासायनिक मल आयात गर्ने लक्ष्य लिएको हो।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार, रासायनिक मल खरिदका लागि २८ अर्ब ८२ करोड १४ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको छ।
अहिलेसम्म एक लाख ९४ हजार ८५ मेट्रिक टन मल आपूर्तिको चरणमा रहेको मन्त्रालयले जनाएको छ। त्यसमा कृषि सामग्री कम्पनीको ३३ हजार १३८ मेट्रिक टन यूरिया र साल्ट ट्रेडिङ कर्पोरेशनको ५७ हजार ६७० मेट्रिक टन मल पर्छ।

कृषि सामग्री कम्पनीले हालसम्म एक लाख १५ हजार ४०५ मेट्रिक टन (यूरिया र डीएपी सहित) र साल्ट ट्रेडिङ कर्पोरेशनले ७८ हजार ६८० मेट्रिक टन मल आपूर्ति गरिसकेको छ।
मन्त्रालयका अनुसार अहिले देशभर एक लाख आठ हजार ९०८ मेट्रिक टन मल मौज्दात छ।
त्यसमा कृषि सामग्री कम्पनीमा डीएपी, यूरिया र पोटास गरी ६३ हजार ८०० मेट्रिक टन, र साल्ट ट्रेडिङ कर्पोरेशनमा ४५ हजार १०८ मेट्रिक टन मल मौज्दात रहेको छ।
मन्त्रालयले हिउँदे खेतीका लागि पर्याप्त मात्रामा रासायनिक मल मौज्दात रहेको दाबी गरेको छ। तर, किसानहरूले भने हरेक वर्ष झैँ आवश्यक समयमा मलको अभाव झेल्नुपर्ने बाध्यता रहेको गुनासो गर्दै आएका छन्।
गएको साउनदेखि असोज मसान्तसम्म देशभर एक लाख ३२ हजार ८०७ मेट्रिक टन मल बिक्री भएको मन्त्रालयले जनाएको छ।

