
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई तोकिएको समयसीमाभित्र आफ्नो म्यान्डेट पूरा गरी आगामी फागुन २१ गतेसम्म प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न आग्रह गरेको छ।
रास्वपाले प्रधानमन्त्री कार्की नेतृत्वप्रति सद्भाव र समर्थन रहेको स्पष्ट गरे पनि त्यो समर्थन ‘निशर्त र अनन्तकालीन हुन नसक्ने’ बताएको छ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित दलहरूसँगको छलफलमा सहभागी रास्वपाका उपाध्यक्ष स्वर्णिम वाग्ले र सचिवालय सदस्य सोबिता गौतमले सरकारले जेन–जी आन्दोलनले उठाएका सुशासन र भ्रष्टाचार नियन्त्रणका मागलाई सम्बोधन गर्दै निष्पक्ष र समयमै निर्वाचन गराउनुपर्ने बताएका छन्।

‘रास्वपाका सुशासन केन्द्रित एजेन्डा र जेन–जीका माग एउटै हुन्,’ वाग्लेले बैठकमा भने, ‘त्यसैले हामी सरकारप्रति सद्भावका साथ उभिएका छौं। तर हाम्रो समर्थन निशर्त र अनन्तकालीन होइन। सरकार प्रतिशोधको राजनीतिबाट अलग रहनुपर्छ।’
सदस्य गौतमले सरकारलाई फागुन २१ गते तोकिएको निर्वाचन सम्पन्न गरी शान्तिपूर्ण सत्ता हस्तान्तरणतर्फ लाग्न सुझाव दिएको बताइन्।
‘हामीले स्पष्ट भनेका छौं — यो सरकारले चुनाव सम्पन्न गरी सत्ता हस्तान्तरण गर्नुपर्छ,’ उनले भनिन्, ‘यदि सरकार अनावश्यक रूपमा समय लम्ब्याउनेतर्फ उन्मुख भयो भने रास्वपा सडकमा पनि प्रतिवाद गर्न पछि पर्दैन।’
रास्वपाले भदौ २३ र २४ गतेको प्रदर्शन र त्यसपछिका हिंसात्मक घटनाबारे निष्पक्ष छानबिन गर्न, प्रहरीको मनोबल उच्च राख्न र कानूनी शासन बलियो बनाउन सरकारसँग माग गरेको छ।
पार्टीले अघिल्ला आन्दोलनपछिका परिस्थितिमा राजनीतिक स्थायित्व, सुशासन र पारदर्शी चुनाव नै मुलुकको प्राथमिकता हुनुपर्ने निष्कर्ष निकालेको छ।

