
पर्सा जिल्लाका सुरक्षा निकायका प्रमुखहरूले वीरगन्ज–१० स्थित घडिअर्वा छठघाटमा छठ पूजाका क्रममा ब्रतालु र भक्तजनहरूको सुरक्षामा कुनै त्रुटि हुन नदिने प्रतिबद्धता जनाएका छन् । देशकै प्रमुख छठघाटका रूपमा परिचित घडिअर्वा पोखरीमा हरेक वर्ष करिब १ लाख ५० हजारभन्दा बढी भक्तजन पूजापाठ र दर्शनका लागि आउने गर्छन् ।
शनिबार घडिअर्वा छठ पूजा व्यवस्थापन समितिले आयोजना गरेको बैठकमा सहभागी सुरक्षा निकायका प्रमुखहरूले सुरक्षाका सबै पक्ष सुदृढ बनाउन तयारी पूरा भएको बताएका हुन् ।
बैठकमा पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जिल्ला सुरक्षा समितिको बैठक बसेर विस्तृत सुरक्षा रणनीति तय गर्ने र त्यसअनुसार सुरक्षाकर्मी परिचालन गरिने बताए । “लाखौं भक्तजनको उपस्थितिमा भीड व्यवस्थापन र सम्भावित दुर्घटनाबाट बच्न प्रहरी प्रशासन गम्भीर रहेको छ,” सुवेदीले भने, “छठघाटमा सुरक्षामा कुनै कसर बाँकी रहने छैन ।”
पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले नेपाल प्रहरी आयोजक समितिका स्वयंसेवकहरूसँग मिलेर सम्पूर्ण सुरक्षाको जिम्मेवारी लिने बताए । उनका अनुसार, छठघाटमा सीसीटीभी कन्ट्रोल रुम स्थापना गरी एक प्रहरी अधिकृतको कमाण्डमा छुट्टै प्रहरी टोली खटाइनेछ ।

त्यस्तै, सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द भट्टले पोखरीको ठूलो जलाशयका कारण मोटरेबल बोटसहितको टोली र महिला सुरक्षाकर्मीहरू पनि परिचालन गरिने जानकारी दिए ।
सुरक्षा उपसमितिका मुना साहका अनुसार, छठघाट परिसरभित्र र बाहिर गरी २० भन्दा बढी सीसीटीभी क्यामेरा जडान गरिएको छ । साथै, घडिअर्वा स्पोर्ट्स क्लबका ६० जना स्वयंसेवक पनि सुरक्षामा सहयोगका लागि खटाइने छन् ।
घडिअर्वा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश साहले यस वर्ष सुरक्षालाई विगतको भन्दा अझ प्रभावकारी र व्यवस्थित बनाउन विशेष ध्यान दिइएको बताए । उनले भने, “घडिअर्वा छठ पूजा वीरगन्जकै पहिचान र प्रतिष्ठाको विषय हो, त्यसैले हामी सबै सुरक्षा निकायसँग सहकार्य गरेर भक्तजनको सुरक्षामा कुनै कमी हुन दिने छैनौँ।”
त्यस्तै, क्लबका सदस्य प्रभाकर गुप्ताले सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै छठघाट परिसर बाहिर एम्बुलेन्स, बारुण यन्त्र (दमकल) र प्राथमिक उपचार शिविर पनि राखिने बताए ।
बैठकमा नेपाली सेनाको श्रीजंग गणका गणपति, राष्ट्रिय अनुसन्धानका प्रतिनिधि, वीरगन्ज महानगरपालिका–१० का वडाध्यक्ष सुशील साह कानु, पूर्व वडाध्यक्ष रामनगीना साह कानु, जिल्ला ट्राफिक प्रहरी प्रमुख युवराज कटुवाल, वडा प्रहरी कार्यालय वीरताको प्रहरी निरीक्षक विक्रम सुवेदी, व्यवस्थापन समितिका उपाध्यक्ष आत्माराम साह, पूर्वअध्यक्षहरू प्रमानन्द साह कानु, मदन प्रसाद गुप्ता, बाल्मिकी साह, प्रेम साह कानु, हरि साह कानु लगायतको सहभागिता रहेको थियो ।

