
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई विदेश भ्रमणमा रोक लगाउने निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकृत गरेको छ।
शुक्रबार न्यायाधीश डा. मनोजकुमार शर्मा र नृपध्वज निरौलाको इजलासले सरकारले अनुमति नदिई काठमाडौं उपत्यका बाहिर जान नपाउने निर्णयविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकृत गर्दै कारण देखाउ आदेश जारी गरेको छ।

जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री लेखक, पूर्व गृहसचिव गोकर्णमणि दुवाडी, पूर्व राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई सरकारको अनुमति बिना उपत्यका बाहिर जान नपाउने सिफारिस गरेको थियो।
अधिवक्ता डा. प्रेमराज सिलवालले उक्त निर्णय गैरकानुनी भएको भन्दै खारेज गर्न र अन्तरिम आदेश जारी गरेर कार्यान्वयन नगर्न माग गरेका थिए।
गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा उनीहरू कार्यरत पदमा बहाल थिए। आन्दोलनका समयमा ठूलो धनजनको क्षति भएपछि ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। जेनजी समूहको मागअनुसार नयाँ सरकार बनेको र त्यसैको अनुरूप आयोगले पाँचजनालाई उपत्यका बाहिर जान रोक लगाउने सिफारिस गरेको थियो।

