
प्रहरीले बर्दिबास र लालगढका छुट्टाछुट्टै स्थानबाट ४१ बोतल प्रतिबन्धित लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ विशेष सूचनाका आधारमा सञ्चालन गरेको सर्च अपरेसनका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

ब्युरो प्रमुख प्रहरी नायब निरीक्षक सरोजकुमार अधिकारीको नेतृत्वमा खटिएको टोलीले लालगढमा मोटरसाइकल चलाइरहेका मिथिला नगरपालिका–८ का १८ वर्षीय रितेसकुमार महतोको साथबाट ओनेरेक्स सिरप १५ बोतल बरामद गरेको थियो।
त्यसपछि थप सूचनाका आधारमा बर्दिबास नगरपालिका–८ हाथीलेट नजिक निगरानी बढाएर राजेश र रोहित नामका दुई जनालाई समेत नियन्त्रणमा लिइएको ब्युरो प्रमुख अधिकारीले जानकारी दिनुभयो।
पक्राउ परेका रितेसलाई इलाका प्रहरी कार्यालय ढल्केबर र बाँकी दुई जनालाई इलाका प्रहरी कार्यालय बर्दिबासमा बुझाइएको प्रहरीले जनाएको छ।

