
मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सुमित्रा भण्डारीले राजनीतिक दल र संविधानविदसँग परामर्श सुरु गरेकी छन्।
आइतबार उनले कांग्रेस संसदीय दलका नेता कृष्णाप्रसाद यादव, एमाले संसदीय दलका नेता सरोजकुमार यादव, सभामुख रामचन्द्र मण्डल र कार्यवाहक मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) सँग छलफल गरेकी थिइन्।

सोनल समर्थित दलहरूले संविधानको धारा १६८ को उपधारा (२) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गर्न आग्रह गरे। सोनलले उक्त धारा पूर्ण रूपमा कार्यान्वयन नभएको र आफूले विश्वासको मत गुमाएको नभएको भन्दै सोही आधारमा प्रक्रिया अघि बढाउनुपर्ने तर्क राखेका थिए।
तर एमालेले उक्त धारा अब लागू नहुने भएकाले अर्को धारामा सरकार गठन गर्न प्रदेश प्रमुखलाई अनुरोध गरेको छ। प्रदेश प्रमुख कार्यालयका कानुन अधिकृत सत्रुधन यादवले हाल अन्योलको अवस्था रहेको र प्रदेश प्रमुखले परामर्शपछि कानुनअनुसार आह्वान गर्ने बताए।
प्रदेशसभामा विश्वासको मत लिने प्रक्रिया सुरु हुनुअघि शनिबार साँझ सोनलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। असोज २९ गते ५६ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका सोनल सत्तासाझेदार दलकै विद्रोह र अनुपस्थितिका कारण राजीनामा दिन बाध्य भएका थिए।

