
एमाले मधेस संसदीय दलका नेता सरोजकुमार यादवलाई बर्दिबासको पानस होटलमै मुख्यमन्त्री नियुक्त गरी शपथ खुवाएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी विवादमा परिसकेकी छिन्।
संविधानको धारा १६८ (२) अनुसार सरकार गठनको आह्वान गर्दै लोकतान्त्रिक समाजवादी पार्टी लगायतका दलले विरोध स्वरूप धर्ना सुरु गरेपछि भण्डारी जनकपुरबाट काठमाडौं जाँदै थिइन्। तर होटल पुगेपछि उनले यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि आलोचना सुरु भएको हो।
प्रदेश प्रमुख भण्डारीले आफूखुसी निर्णय नगरेको र यो कदम एमाले अध्यक्ष केपी शर्मा ओलीको दबाबमा गरिएको बताइएको छ। अध्यक्ष ओलीले संविधानको धारा १६८ (३) अनुसार यादवलाई ठूलो दलको हैसियतले मुख्यमन्त्री बनाउन भण्डारीलाई निर्देशन दिएका थिए।

यो निर्णयपछि एमाले भित्रै विवाद उत्पन्न भएको छ। मधेस प्रदेशका प्रमुख सचेतक हरिनारायण महतोले यसबाट दल र पार्टीको बेइज्जति भएको बताए।
भण्डारीले होटलमै शपथ गराएपछि नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, जनमत, नागरिक उन्मुक्ति लगायत दलले विरोध गरेका छन्। विरोधमा केहीले मुख्यमन्त्री कार्यालय तोडफोड गर्ने र कर्मचारी तथा प्रहरीमाथि हातपातको प्रयास समेत गरेको भनिएको छ।
प्रदेश प्रमुख भण्डारी २०७८ सालमा डेनमार्कका लागि राजदूत सिफारिस भएकी थिइन्। २०७८ असारमा सर्वोच्च अदालतको निर्णयपछि प्रस्तावित ११ जना राजदूत बन्न नसकेकी उनी २०८० फागुन २९ गते ओलीकै सिफारिसमा मधेस प्रदेश प्रमुख बनेकी हुन्।
६४ वर्षीया भण्डारी झापा, दमककी हुन् र लामो समय एमालेको पूर्णकालीन कार्यकर्ता तथा अखिल नेपाल महिला संघकी नेता रहिसकेकी छिन्। उनले नेपाल परिवार नियोजन संघ, स्थानीय खानेपानी समिति र जिल्ला शिक्षा समितिमा पनि काम गरेकी थिइन्। शिक्षण पेशामा केही समय लागे पनि पूर्णकालीन राजनीतिमा प्रवेश गरेकी भण्डारीले शिक्षण पेशा छाडेकी हुन्।

