
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधान संशोधनसहितका न्यायसङ्गत मागहरू सम्बोधन गराउन सरकारमाथि दबाब बढाउने उद्देश्यले देशव्यापी संघर्षका कार्यक्रम घोषणा गरेको छ।
पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार जसपाले चरणबद्ध रूपमा शान्तिपूर्ण विरोध, धर्ना र जनसभा सञ्चालन गर्ने निर्णय गरेको हो। कार्यक्रमअनुसार मंसिर १० गते देशभरका सबै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई २८ बुँदे मागसहित ज्ञापनपत्र बुझाइनेछ।

मंसिर ११ देखि १५ गतेसम्म प्रत्येक संसदीय क्षेत्रमा विरोध कार्यक्रम, कोणसभा र जनपरिचालन अभियान चलाइनेछ। त्यसपछि मंसिर १९ देखि २२ गतेसम्म जिल्ला प्रशासन कार्यालय अगाडि प्लेकार्ड र ब्यानरसहित शान्तिपूर्ण धर्ना दिइनेछ।
यसभन्दा अघि मंसिर २७ देखि पुस ४ सम्म देशभर जिल्लास्तरीय विरोध सभा तथा जनसभा आयोजनाको तयारी गरिएको छ। पुस १२ गते विराटनगर, पुस १४ गते जनकपुर, पुस १५ गते वीरगन्ज र पुस १७ गते नेपालगन्ज/भैरहवामा प्रदेशस्तरीय विरोध सभाहरू गर्ने निर्णय भएको बस्नेतले जानकारी दिए।
पार्टीले प्रत्यक्ष कार्यकारी राष्ट्रपति, समान जनसङ्ख्या आधारमा निर्वाचन क्षेत्र, पूर्ण समावेशी संसद्, स्वायत्त अधिकार सम्पन्न प्रदेश लगायतका संवैधानिक मुद्दामा तत्काल संशोधन आवश्यक रहेको जनाएको छ। आवश्यकता अनुसार अन्य थप विरोध कार्यक्रम स्थानीय तहका समितिले पनि सञ्चालन गर्न सक्ने बताइएको छ।

