
मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि बसेको सात दलको संयुक्त बैठक निष्कर्षबिना टुंगिएको छ। सभाहलमै सहमति बन्न नसक्नुको मुख्य कारण भने कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दुवैले मुख्यमन्त्रीको दाबी नछोड्नु हो।
जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादवका अनुसार कांग्रेसले ‘अब कांग्रेसको पालो आएको’ भन्दै मुख्यमन्त्री पदमा आफ्नो दाबी प्रस्तुत गरेको छ। उनका भनाइमा—मधेशमा यसअघि सबै दलको नेतृत्वमा सरकार बनाईसकिएकाले स्वाभाविकरूपमा कांग्रेसलाई मौका दिनुपर्ने कांग्रेसको तर्क छ।

यता लोसपाले भने पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलको सरकार ‘अन्यायपूर्ण र अपमानजनक’ रूपमा ढालिएको भन्दै फेरि एकपटक आफूहरूलाई नेतृत्वको अवसर दिनुपर्ने अडान लिएको छ।
दुवै दल आफ–आफ्नो दाबीमा अडिग रहेपछि बैठक निष्कर्षविहीन बनेको हो। अब कांग्रेस र लोसपा आपसमा बसेर सहमति खोज्ने र त्यसपछि आजै पुनः सात दलको बैठक बस्ने सहमति भएको यादवले जानकारी दिए।
यसैबीच, प्रदेश प्रमुखले मुख्यमन्त्रीका लागि दाबी पेस गर्न भोलि (शुक्रबार) साँझ ५ बजेसम्म समय दिएका छन्। समय सीमा नजिकिँदै जाँदा मधेशको सत्ता–गठन थप रोचक मोडमा पुगेको छ।

