
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाएर देशलाई राजनीतिक बन्द अवस्थाबाट निकास दिन आग्रह गरेका छन्। शनिबार ललितपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै उनले निर्वाचनले मुलुकको स्थिरता र भविष्यका लागि मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरे।
राष्ट्रपति पौडेलले नयाँ पुस्ताको अपेक्षा चुस्त सेवा प्रवाह, सुशासन र विकासमा केन्द्रित रहेको भन्दै यिनै माध्यमबाट व्यवस्थाप्रति भरोसा बलियो बनाउनुपर्ने आवश्यकता औँल्याए। संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ गर्दै विकासको ऐतिहासिक जिम्मेवारी पूरा गर्नु आजको प्राथमिकता भएको उनको भनाइ थियो।

उनले नागरिकका चाहना पूरा गर्न स्थानीय सरकारको भूमिकालाई विशेष महत्त्व दिँदै, “नागरिकको नजिकको सरकार नै स्थानीय तह हो, तिनले दिने सेवा र सुशासनले नै व्यवस्थाप्रति जनविश्वास बढ्छ,” भने।
पूर्वाधार निर्माणसँगै नागरिकको जीवनस्तर सुधार र खुसी बढाउने विकास आजको आवश्यकता भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले जनगुनासो सुन्ने, बुझ्ने र घरदैलोमै जाने लोकतान्त्रिक अभ्यासलाई अझै प्रभावकारी बनाउनुपर्ने धारणा राखे।
ललितपुर महानगरले सम्पदा पुनर्निर्माण तथा संरक्षणमा गरेको कामको प्रशंसा गर्दै उनले सम्पदा सहरको पहिचान झनै मजबुत बन्दै गएको बताए।

