
सर्वोच्च अदालतको परमादेशपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा पुनर्स्थापित हितेन्द्रदेव शाक्यले आज आफ्नो कार्यभार सम्हालेका छन् । उनी बिहान साढे १० बजे प्राधिकरणको केन्द्रीय कार्यालय, रत्नपार्क–काठमाण्डौ पुगेर औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन् ।
सरकारले गत असोज ५ गते शाक्यलाई प्राधिकरणबाट जल तथा ऊर्जा आयोगमा सरुवा गर्दै उनको ठाउँमा मनोज सिलवाललाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो । उक्त निर्णय कानुनविपरीत रहेको ठहर गर्दै सर्वोच्च अदालतले सोमबार निर्णय खारेज गरेको थियो । अदालतको आदेशपछि शाक्य पुनः कार्यकारी निर्देशकको भूमिकामा फर्किएका हुन् ।

कार्यभार सम्हाल्दै शाक्यले प्राधिकरणका योजनाहरूलाई पहिलाभन्दा अझ बढी जोश, प्रतिबद्धता र लगनशीलतासहित अघि बढाउने प्रतिवद्धता व्यक्त गरे। उनले सरकारको नीति–निर्देशनलाई आधार मानेर प्राधिकरणको संस्थागत हितलाई प्राथमिकतामा राख्दै काम गर्ने बताए ।
उनका अनुसार आगामी साढे तीन वर्षलाई निश्चित लक्ष्य पूरा गर्ने अवधिका रूपमा लिइनेछ। ऊर्जा मन्त्रीसँगको समन्वय, नीतिगत स्पष्टता तथा प्राधिकरणकी आफ्नै विद्युत उत्पादन योजनाहरूलाई प्रवर्द्धन गर्दै संस्था अघि बढाइने उनले उल्लेख गरे ।
शाक्यले विद्युत क्षेत्रको प्रविधि, चुनौती र सम्भावनाबारे आफू तथा मन्त्रालय दुवैले राम्रो समझ राखेकाले आगामी दिनहरूमा समन्वित ढंगले काम गर्ने विश्वास व्यक्त गरे ।

