Aadarsh-Daily

पर्सा–३ मा एमालेको चुनावी तयारी तीव्र, युवाको नेतृत्वमा संगठन विस्तार

ad-4p

वीरगञ्ज– पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा एमालेले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण र चुनावी रणनीतिमा केन्द्रित क्षेत्रीय समन्वय कमिटीको बैठक सम्पन्न गरेको छ। पोखरीया स्थित पार्टी कार्यालयमा आयोजित बैठकमा पार्टीको संगठनात्मक मजबुती, कार्यकर्ता परिचालन र जनकेन्द्रित अभियानलाई प्रभावकारी बनाउने विषयमा व्यापक छलफल गरिएको थियो।

content ad p2

बैठकमा प्रतिनिधिसभा सदस्यका युवा उम्मेदवार रूपेश कुमार पाण्डेले पर्सा–३ लाई विकास, सुशासन र अवसरको दृष्टिले उदाहरणीय क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले युवाको सक्रियता, अनुभवी नेताहरूको मार्गदर्शन र जनताको विश्वासलाई आधार बनाएर रोजगारी सिर्जना, पूर्वाधार विस्तार, शिक्षा र स्वास्थ्य क्षेत्रमा प्राथमिकतासहित काम अघि बढाउने योजना प्रस्तुत गर्नुभयो।

content left

क्षेत्रीय समन्वय कमिटीका अध्यक्ष फर्मान मियाको अध्यक्षता तथा केन्द्रीय कमिटी सदस्य एवं पर्सा जिल्ला इन्चार्ज प्रभु हजराको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा केन्द्रीय सदस्य निर्मला देवकोटा, केन्द्रीय सल्लाहकार परिषद सदस्य शिव पटेल, मधेश प्रदेश उपाध्यक्ष बिचारी यादव, जिल्ला अध्यक्ष विश्वम्भर शर्मा लगायत प्रदेशदेखि पालिका तहसम्मका नेताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमकै क्रममा नेपाली काँग्रेस निकटका तरुण दल पर्साका सचिव संतोष महतो, राष्ट्रिय मुक्ति पार्टीका सदाम हुसैनसहित पोखरीया नगरपालिकाका विभिन्न वडाका दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई पार्टी नेतृत्वले खादा ओढाएर स्वागत गरेको थियो। साथै, संतोष महतोलाई क्षेत्रीय युवा परिचालन कमिटीको संयोजकको जिम्मेवारी प्रदान गरिएको छ।

प्रमुख अतिथि हजराले पार्टी उम्मेदवारको जित सुनिश्चित गर्न एकताबद्ध, अनुशासित र जनमुखी अभियानमा जुट्न कार्यकर्तालाई निर्देशन दिनुभयो। उहाँले पर्सा–३ मा देखिएको जनसमर्थन र संगठनात्मक तयारीले एमालेको जित सम्भव हुने विश्वास व्यक्त गर्नुभयो।

बैठकले पर्सा–३ मा एमालेको संगठन थप सशक्त बन्दै गएको संकेत दिएको छ। युवाको अग्रसरता, अनुभवी नेताहरूको साथ र बढ्दो जनविश्वासका कारण रूपेश कुमार पाण्डेको उम्मेदवारीलाई परिवर्तन र स्थायित्वको प्रतीकका रूपमा हेरिएको छ। कार्यक्रममा पूर्व संविधानसभा सदस्य तथा पोखरीया नगरपालिकाका नगर प्रमुख प्रधुमन चौहानले स्वागत मन्तव्य राख्नुभयो भने कार्यक्रमको सहजीकरण संतोष गिरीले गर्नुभएको थियो।

सम्बन्धित खबर

बिन्दवासिनीमा एमाले उम्मेदवार रुपेश कुमार पाण्डेयको सशक्त घरदैलो अभियान

Aadarsh Daily

पर्सा–२ मा परिवर्तनको आह्वान : रास्वपाका सुशील कुमार कानुले तीव्र पारे घरदैलो अभियान

Aadarsh Daily

पर्सा–१ मा विकासको निरन्तरता : फेरि आवश्यक प्रदीप यादव

Aadarsh Daily