
वीरगञ्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति पर्साले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको लागत फारम इन्ट्री कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरेको एकदिने कम्प्युटर तालिम सफलतापूर्वक सम्पन्न भएको छ।
आयोगका सदस्य–सचिव राकेश झाको अध्यक्षतामा सम्पन्न तालिम समापन कार्यक्रममा भूमि समस्या समाधान आयोग पर्साका जिल्ला अध्यक्ष तबरेज अहमद प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो। कार्यक्रममा विज्ञ सदस्य सन्तोष राम, सदस्य शिव नारायण राम तथा सम्बन्धित प्राविधिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अध्यक्ष अहमदले भूमिहीन समस्या केवल प्रशासनिक विषय नभई सामाजिक न्याय र संविधानले सुनिश्चित गरेको नागरिक अधिकारसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको बताउनुभयो। उहाँले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई लालपूर्जा उपलब्ध गराउने अभियान सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै त्यसका लागि तथ्याङ्कको शुद्धता, प्रविधिको सही प्रयोग र दक्ष जनशक्तिको आवश्यकता औंल्याउनुभयो।

“आजको कम्प्युटर तालिमले लागत फारम इन्ट्री प्रक्रियालाई छिटो, पारदर्शी र त्रुटिरहित बनाउन महत्वपूर्ण योगदान पुर्याउनेछ,” अध्यक्ष अहमदले भन्नुभयो। उहाँले स्थानीय तह, प्राविधिक र आयोगबीचको समन्वय र सहकार्य बिना लक्ष्य हासिल गर्न नसकिने स्पष्ट पार्दै तालिम प्राप्त जनशक्तिले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमका अध्यक्ष तथा सदस्य–सचिव राकेश झाले लागत फारम इन्ट्री प्रक्रियामा देखिने समस्या न्यूनिकरण गर्न र डिजिटल प्रणालीलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले तालिम आयोजना गरिएको जानकारी दिनुभयो। उहाँले सहभागीहरूलाई तालिममा सिकेको ज्ञान व्यवहारमा उतार्न आग्रह गर्नुभयो।
तालिमका क्रममा प्राविधिकहरूले लागत फारम इन्ट्रीको प्रक्रिया, डाटा व्यवस्थापन, प्रविधिको प्रयोग, त्रुटि सच्याउने विधि तथा प्रतिवेदन तयारीसम्बन्धी व्यावहारिक जानकारी प्रदान गरेका थिए।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले तालिम उपयोगी र व्यवहारिक रहेको प्रतिक्रिया दिँदै यस्ता तालिमले कामप्रतिको आत्मविश्वास बढाएको बताएका थिए।

