
वीरगञ्ज । लामो राजनीतिक अनुभव बोकेका नेपाली कांग्रेसका नेता अजय चौरसियाको पछिल्लो संसदीय कार्यकाल विवादित बनेको भन्दै पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का मतदाताले यसपटक परिवर्तन चाहेको संकेत दिएका छन्।
२०७९ सालको निर्वाचनमा पर्सा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौरसियाले आफ्नो संसदीय कार्यकाल अधिकांश समय विवादमै बिताएको स्थानीयको टिप्पणी छ। सोही क्षेत्रबाट पुनः उम्मेदवार बनेका चौरसियाप्रति यसपटक जनविश्वास कमजोर देखिन थालेको छ।
पर्सा–२ मा योग्य, शिक्षित र दूरदर्शी सोच भएका नयाँ उम्मेदवार उपलब्ध हुँदाहुँदै पनि पुरानै र विवादित नेतालाई निरन्तर अघि सारिनु उचित नभएको एक स्थानीय मतदाताले बताए। “अब क्षेत्रले नयाँ अनुहार र नयाँ सोच खोजिरहेको छ,” उनले भने।
चौरसियामाथि गौर हत्याकाण्डका मुख्य आरोपी स्वर्गीय अफ्ताब आलमलाई सफाइ दिने मुद्दामा न्यायाधीशलाई प्रभावमा पारेको गम्भीर आरोप समेत लागेको थियो। सो समय चौरसिया नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री रहेका थिए। उक्त प्रकरणमा उनको नाम जोडिएपछि मन्त्रालयका पदाधिकारी तथा कर्मचारीको फोन विवरण अनुसन्धान गर्न देशव्यापी माग उठेको थियो।

यसबाहेक, चुनावको बेला कार्यकर्ता र मतदातासँग नजिक देखिने तर चुनाव सकिएपछि आफ्नै सहयोगी र कार्यकर्तालाई समेत बेवास्ता गर्ने गरेको आरोप नेपाली कांग्रेसकै कार्यकर्ताले लगाउँदै आएका छन्।
जिर्ण अवस्थामा रहेको तिलावे पुलको विकल्पमा बेलि ब्रिज ल्याउने आश्वासन दिए पनि उक्त योजना प्रचारमै सीमित रहेको स्थानीयको गुनासो छ। पछिल्लो वर्षायाममा अलौं–सुगौली बीचको पानी विवादमा सांसदको हैसियतले नीतिगत समाधान खोज्नुपर्ने ठाउँमा एकपक्षीय अडानसहित अनसन बसेर प्रचारवाजी गरेको आरोप पनि उनीमाथि लागेको छ।
त्यस्तै, वीरगञ्जको विन्धवासिनी क्षेत्रमा सडक निर्माण गरिरहेको वीरगञ्ज महानगरपालिकाको विकास कार्यमा कानुनी बाधा पुर्याएको आरोप समेत चौरसियामाथि लाग्दै आएको छ।
एकातिर अजय चौरसिया विभिन्न विवादको घेरामा रहँदा अर्कोतर्फ पर्सा–२ मा नेकपा एमालेकी उम्मेदवार रिमा कुमारी यादवको उम्मेदवारीले मतदातामा नयाँ आशा पलाएको देखिन्छ। शिक्षित, योग्य र स्वच्छ छविकी नेतृको रूपमा रिमा यादवलाई पाएपछि आफूहरूको नयाँ नेतृत्वको खोजी पूरा भएको पर्सागढीका एक मतदाताले नाम उल्लेख नगर्ने सर्तमा बताएका छन्।
पर्सा–२ मा यसपटक चुनाव केवल व्यक्तिको होइन, विवाद र परिवर्तनबीचको छनोट हुने संकेत देखिएको छ।

