Aadarsh-Daily

समानुपातिकमा साना दल संकटमा, पूर्व प्रधानमन्त्रीहरूकै दलले कटाउन सकेनन् थ्रेसहोल्ड

ad-4p

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्दा पूर्व प्रधानमन्त्री, पूर्व उपप्रधानमन्त्री तथा पूर्व मन्त्रीहरूले नेतृत्व गरेका केही दलहरू तीन प्रतिशतको थ्रेसहोल्ड कटाउन नसक्ने लगभग निश्चित भएको छ।

हालसम्म करिब एक करोड ६५ लाख मत गणना हुँदा जनता समाजवादी पार्टी (जसपा) नेपाल ले एक लाख ७४ हजार १३५ मत प्राप्त गरेको छ, जुन कुल सदर मतको दुई प्रतिशतभन्दा पनि कम हो। पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव अध्यक्ष रहेको उक्त दलले २०७९ को निर्वाचनमा करिब चार प्रतिशत मत ल्याएर समानुपातिकबाट पाँच सांसद जितेको थियो। यस पटक जसपा नेपालले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, हृदयेश त्रिपाठीको जनता प्रगतिशील पार्टी तथा वृषेशचन्द्र लालको तराई मधेश लोकतान्त्रिक पार्टीसँग एकीकरण गरेर चुनाव लडे पनि अपेक्षित मत प्राप्त गर्न सकेन।

त्यस्तै, डा. सीके राउत नेतृत्वको जनमत पार्टी ले पनि तीन प्रतिशत थ्रेसहोल्ड पार गर्न सकेन। यस पार्टीले हालसम्म ७८ हजार ७२६ मत मात्र प्राप्त गरेको छ। २०७९ को निर्वाचनमा भने जनमत पार्टीले ३.७४ प्रतिशत मत ल्याएर पाँच सांसद जितेको थियो।

कुल सदर मतको कम्तीमा तीन प्रतिशत मत प्राप्त गर्ने दलका उम्मेदवार मात्र समानुपातिकतर्फ निर्वाचित हुने व्यवस्था रहेको छ। हालसम्मको मतपरिणामअनुसार अन्य धेरै साना दलहरू पनि सो सीमा पार गर्न असफल देखिएका छन्।

राष्ट्रिय परिवर्तन पार्टी ले एक लाख ७० हजार २५८ मत प्राप्त गरेको छ। कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीसँग तालमेल गरेर चुनाव लडेको यस दलको मत पनि तीन प्रतिशत पुग्ने सम्भावना देखिएको छैन।

त्यस्तै, अशोक राई नेतृत्वको जसपा, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले साझा चुनाव चिन्ह ‘जाँतो’ लिएर प्रतिस्पर्धा गरेका थिए। उक्त चिन्हमा ६१ हजार २२६ मत खसेको छ।

यसैगरी, नारायणमान बिजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टीले ४२ हजार १६७, राष्ट्र निर्माण दलले ३८ हजार ८१७ र पूर्व प्रधानमन्त्री चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले २९ हजार ३९० मत प्राप्त गरेका छन्।

पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र नेपाल जनजागृति पार्टीले साझा चुनाव चिन्ह ‘बस’ लिएर चुनाव लडेका थिए। उक्त चिन्हमा २८ हजार २३९ मत परेको छ।

पूर्व प्रधानमन्त्री डॉ. बाबुराम भट्टराई र पूर्व मन्त्री जनार्दन शर्मा संस्थापक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीले २४ हजार ४९० मत प्राप्त गरेको छ। हाल उक्त पार्टी दुर्गा सोब, सुदन कराती, सन्तोष परियार, ओजस्वी भट्टराई र अशोक जैसवालको नेतृत्वमा छ।

यसैबीच, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले पनि थ्रेसहोल्ड पार गर्न सकेको छैन। मंगलबार राति १० बजेसम्म उक्त पार्टीले २३ हजार ७५८ मत प्राप्त गरेको छ।

त्यस्तै, पूर्व उपप्रधानमन्त्री सीपी मैनाली नेतृत्वको नेकपा (माले) ले ६ हजार ५९ र पूर्व मन्त्री चन्द्रदेव जोशी नेतृत्वको नेकपा (संयुक्त) ले ४ हजार ४७८ मत पाएका छन्।

हालसम्मको परिणामअनुसार माथि उल्लेखित कुनै पनि दलले प्रत्यक्ष निर्वाचनतर्फ पनि सिट जित्न सकेका छैनन्, जसले आगामी संसद्मा उनीहरूको प्रतिनिधित्व नहुने लगभग निश्चित देखिएको छ।

content ad p2
content left

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily