
वीरगञ्ज — मधेस क्षेत्रमा श्रद्धा, भक्ति र निष्ठासाथ मनाइने चैती छठ पर्व आज (आइतबार)देखि विधिवत रूपमा सुरु भएको छ। चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिनसम्म विभिन्न धार्मिक विधि र परम्परासहित मनाइने यस पर्वको पहिलो दिन आज व्रतालुहरूले ‘नहाय–खाय’ विधिबाट पर्वको शुभारम्भ गरेका छन्।
पहिलो दिन व्रतालुहरूले पवित्र नदी, तलाउ वा जलाशयमा स्नान गरी व्रतको संकल्प लिन्छन् र शुद्ध तथा सात्विक भोजन ग्रहण गर्ने परम्परा छ। छठ पर्व वर्षमा दुई पटक—शरद र वसन्त ऋतुमा—मनाइन्छ। कात्तिक शुक्ल पक्षमा मनाइने छठ विशेष रूपमा भव्य हुने भए पनि चैत महिनामा मनाइने चैती छठ पनि मधेसमा महत्वपूर्ण आस्थाको पर्वका रूपमा स्थापित छ।

चार दिनसम्म चल्ने यस पर्वअन्तर्गत दोस्रो दिन ‘खरना’ विधि मनाइन्छ, जसमा दिनभरि उपवास बसेपछि साँझ सख्खरमा पकाइएको खिर सेवन गरिन्छ। तेस्रो दिन अर्थात् षष्ठी तिथिमा व्रतालुहरूले निराहार व्रत बसी साँझ अस्ताउँदो सूर्यलाई जलाशयको घाटमा पुगेर पानीमा उभिएर अर्घ्य अर्पण गर्छन्, जसलाई ‘सँझिया घाटको अर्घ’ भनिन्छ।
पर्वको अन्तिम दिन सप्तमीका बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ्य दिएर व्रत सम्पन्न गरिन्छ। यसलाई ‘भोरघाटको अर्घ’ वा ‘पारण’ भनिन्छ।
छठ पर्वमा ठेकुवा, केरा, उखु, सुन्तला, निम्बू, बोड़ी, सुथनी, मुला लगायतका फलफूल तथा तरकारी अर्घ्यका रूपमा सूर्यदेवलाई अर्पण गरिन्छ। सूर्य र षष्ठी माताको उपासनासँग जोडिएको यस पर्वले मनोकामना पूरा हुने, सुख-समृद्धि प्राप्त हुने तथा रोगव्याधिबाट मुक्ति मिल्ने धार्मिक विश्वास रहिआएको छ।
मधेस क्षेत्रमा जनस्तरमै व्यापक सहभागितासहित मनाइने छठ पर्वले सामाजिक एकता, सांस्कृतिक पहिचान र धार्मिक आस्थालाई अझ मजबुत बनाउने विश्वास गरिन्छ।

