
बीरगंज। चैत्र शुक्ल नवमीका दिन मनाइने हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व ‘रामनवमी’ आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइएको छ।
मर्यादा पुरुषोत्तम भगवान् श्रीरामचन्द्रको जन्मोत्सवका रूपमा मनाइने यस पर्वका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ। आज देशभरका राम मन्दिरहरूमा भक्तजनहरूको उल्लेख्य भीड लागेको छ भने जनकपुरस्थित प्रसिद्ध रामजानकी मन्दिरमा दर्शनार्थीहरूको घुइँचो लागेको छ।

धार्मिक विश्वासअनुसार रामनवमीका दिन व्रत, उपवास तथा पूजा–आराधना गर्नाले सुख, शान्ति र समृद्धि प्राप्त हुने मान्यता छ। त्रेतायुगमा अयोध्याका राजा दशरथ र रानी कौशल्याको जेठो पुत्रका रूपमा भगवान् विष्णुको अवतार लिएर रामको जन्म भएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ।
वाल्मिकीय रामायणअनुसार भगवान् रामले मिथिलाका राजा जनककी पुत्री सीतासँग विवाह गरी धर्म स्थापना तथा दुष्टहरूको विनाश गरेका थिए।
रामनवमीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै शुभकामना व्यक्त गरेका छन्।

