

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव आज विश्वासको मत लिने भएका छन् । यसका लागि प्रदेशसभा बैठक दिउँसो १ बजे आह्वान गरिएको छ ।
यसअघि जनमत पार्टीले वैशाख २१ गते सरकारबाट समर्थन फिर्ता लिएपछि जेठ १ गतेका लागि विश्वासको मत लिने तयारी गरिएको थियो । तर नेपाली कांग्रेसभित्रको आन्तरिक असन्तुष्टि र जनता समाजवादी पार्टी नेपाल (जसपा) ले समर्थनबारे निर्णय नगर्दा उक्त प्रक्रिया स्थगित गरिएको थियो ।
विश्वासको मत लिनु अघि नै मधेश प्रदेशको सत्ता समीकरणमा ठूलो फेरबदल भएको छ । जसपा नेपाललाई सरकारबाट हटाउँदै नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई सरकारमा सहभागी गराइएको छ । मुख्यमन्त्री यादवले जसपाका तीन मन्त्रीलाई बर्खास्त गर्दै एमालेका मोहम्मद समिर लाई विनाविभागीय मन्त्री नियुक्त गरेका छन् ।
नयाँ समीकरणअनुसार अब मधेशमा नेपाली कांग्रेस, एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच तीन दलीय गठबन्धन बनेको छ । गठबन्धन बनेपछि मुख्यमन्त्रीले जसपा र जनमत पार्टीका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएका थिए ।
जनमत पार्टीबाट अर्थमन्त्री महेशप्रसाद यादव र खेलकुद तथा समाज कल्याणमन्त्री बसन्त कुशवाहाले राजीनामा दिएका छन् । तर जसपाका मन्त्रीहरू—भौतिक पूर्वाधार मन्त्री राजकुमार गुप्ता, शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तथा श्रम तथा यातायात मन्त्री मनिष सुमनले राजीनामा नदिएपछि उनीहरूलाई बर्खास्त गरिएको हो ।
प्रदेशसभाको अंकगणितअनुसार १०७ सदस्यीय सभामा बहुमतका लागि ५४ सिट आवश्यक पर्छ । नयाँ गठबन्धनसँग एमालेका २४, कांग्रेसका २२ र नेकपाका १५ गरी कुल ६१ सिट रहेको छ, जसले सरकारलाई स्पष्ट बहुमतमा पुर्याएको छ ।
यसैबीच, जनमत पार्टीसँग १२ सिट रहेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एक/एक जना सदस्य रहेका छन् ।
अब आजको बैठकमा मुख्यमन्त्री यादवले सहज रूपमा विश्वासको मत पाउने सम्भावना देखिएको छ ।

