Aadarsh-Daily

१५ वैशाखबाट शैक्षिक सत्र सुरु गर्ने निर्णयले विद्यालय अन्योलमा, आइतबार बिदाले थप चुनौती

ad-4p
content left

सरकारले आगामी शैक्षिक सत्र १५ वैशाखबाट सुरु गर्ने तथा आइतबार पनि बिदा दिने निर्णय गरेपछि देशभरका शैक्षिक संस्थाहरू अन्योलमा परेका छन्। यसअघि प्रत्येक वर्ष १ वैशाखबाट सुरु हुने शैक्षिक सत्र यसपटक ढिलो सुरु हुने भएपछि वार्षिक शैक्षिक क्यालेन्डर कार्यान्वयनमा समस्या देखिएको हो।

२२ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजतालाई कारण देखाउँदै शैक्षिक सत्र सार्ने निर्णय गरेको थियो। शिक्षा मन्त्रालयका एक अधिकारीका अनुसार इन्धन अभावकै कारण यस्तो निर्णय लिनुपरेको हो।

यसैबीच, सरकारको शनिबार र आइतबार दुवै दिन बिदा दिने निर्णयले शैक्षिक गतिविधिमा थप चुनौती सिर्जना गरेको छ। दुई दिन बिदा हुँदा आवश्यक ‘क्रेडिट आवर’ पूरा गर्न स्थानीय बिदा कटौती गर्नुपर्ने र शुक्रबार पूर्ण समय पढाउनुपर्ने अवस्था आउन सक्ने मन्त्रालय स्रोतले जनाएको छ।

यद्यपि, पाठ्यक्रम विकास केन्द्रले भने क्रेडिट आवरमा कुनै समस्या नहुने स्पष्ट पारेको छ। केन्द्रका महानिर्देशक युवराज पौडेलका अनुसार २०८३ वैशाख १५ देखि सुरु भएर २०८४ वैशाखसम्म चल्ने शैक्षिक सत्रलाई क्यालेन्डर मिलाएर सहज रूपमा सञ्चालन गर्न सकिन्छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पनि १५ वैशाखबाटै विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्ने तयारी गरेको जनाएको छ। यसबारे अन्तिम निर्णय केही दिनमै सार्वजनिक गरिने जनाइएको छ।

उता, जनक शिक्षा सामग्री केन्द्रले नयाँ शैक्षिक सत्रका लागि आवश्यक पाठ्यपुस्तक समयमै उपलब्ध हुने जनाएको छ। केन्द्रले हालसम्म करिब १ करोड ७० लाख पुस्तक छापिसकेको र ती पुस्तक प्रदेश कार्यालयमार्फत देशभर पठाइसकिएको जानकारी दिएको छ।

केन्द्रका प्रबन्धक सञ्चालक यदुनाथ पौडेलका अनुसार कक्षा सञ्चालन सुरु हुँदा विद्यार्थीको हातहातमा पुस्तक पुग्नेछ र कुनै अभाव हुने छैन। उनले हालै सम्पन्न चुनावका कारण पाठ्यपुस्तक छपाइमा कुनै असर नपरेको पनि स्पष्ट पारे।

content ad p2

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily